काठमाडौं- नातेदारको हत्यामा दोषी ठहर भएका उदयपुरका विवेक दाहाल अहिले साउदी अरबको जेलमा छन्। उनलाई साउदीको पुनरावेदन अदालतले ८ महिनाअगाडि व्यक्ति हत्याको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको थियो।
उनीजस्तै श्रम बेच्न परदेशिएका नेपालीमध्ये अरु चार जनालाई साउदीकै अदालतले मृत्युदण्डको फैसला सुनाएको छ।
आफ्नो सामान्य आवश्यकता पूरा गर्न र परिवारको दैनिक गुजारा सहज बनाउन भनेर परदेशमा पसिना बेच्न गएका नेपालीमध्ये विभिन्न देशमा २५ जना जेलमा मृत्युको तारेख कुरेर बसेका छन्। सबैभन्दा बढी मलेसिया (१६ जना) मा मृत्युदण्डको सजाय सुनाइएको छ।
साउदी अरबमा मृत्युदण्डको सजाय पाएका पाँच नेपाली जेलमा देश र परिवार सम्झिँदै दिन काटिराखेका छन्। कुवेतमा तीन र यूएईमा एक जना नेपालीलाई मृत्युदण्डको सजाय तोकिएको छ।
वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार श्रम स्वीकृति लिएर विदेश गएका नेपालीमध्ये ५४५ जना विभिन्न अभियोगमा विदेशी जेलमा छन्। जेलमा रहेकामध्ये ५२६ पुरुष र १९ महिला छन्।
तीमध्ये २५ जनालाई सम्बन्धित देशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ भने २०६ जनालाई विभिन्न अवधिको कैद सजाय तोकिएको छ । त्यस्तै जेलमै भए पनि सजाय तोकिन बाँकी २९४ छन्।
वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये सबैभन्दा बढी २०५ जना मलेसियाको जेलमा छन्। जसमध्ये १६ जनालाई अदालतले मृत्युदण्डको सजाए सुनाइएको छ भने सजाय तोकिन बाँकी १९० जना छन्।
यूएईको जेलमा १८५ नेपालीले सजाय भुक्तान गरिरहेका छन्। यीमध्ये एकजनालाई मृत्युदण्डको सजाय सुनाइएको छ भने आजीवन कारावास सजाय तोकिएका ४ जना छन्।
एक वर्षदेखि १५ वर्षसम्म जेल सजाय तोकिएका ५०, तीन महिना सजाय तोकिएका ७५, सजाय तोक्न बाँकी ४८ र जरिवाना तोकिएका सात जना छन्।
कुवेतमा ५८ जना नेपाली जेलमा छन्। जसमध्ये मृत्युदण्डको सजाय तोकिएका तीन जना छन् भने आजीवन कारावास तोकिएका ९ जना छन्। १० वर्षदेखि १५ वर्षसम्म जेल सजाय तोकिएका ४२ र सजाय तोक्न बाँकी ४ जना छन्।
यस्तै कतारको जेलमा ३५ जना नेपालीले सजाय भोगिराखेका छन्।
यीमध्ये आजीवन कारावास सजाए पाएका तीन, एक वर्षदेखि १५ वर्षसम्म जेल सजाय तोकिएका १३, सजाय तोक्न बाँकी १८ र जरिवाना तोकिएका एक जना छन्।
साउदीको रियादस्थित जेलमा रहेका २३ जना नेपालीमध्ये मृत्युदण्डको सजाय तोकिएका ५ जना छन्। १० वर्षभन्दा कम जेल सजाय तोकिएका एक, सजाय तोकिन बाँकी ११ र जरिवाना तोकिएका ६ जना छन्।
साउदी अरबकै जेद्दा जेलमा रहेका ३१ नेपालीमध्ये १० वर्षभन्दा कम जेल सजाय तोकिएका एक, सजाय तोकिन बाँकी २६ र जरिवाना तोकिएका चार जना छन्।
बहराइनको जेलमा पाँच नेपालीले सजाय काटिरहेका छन्। उनीहरुलाई १० वर्षदेखि २५ वर्षसम्म कैद सजाय सुनाइएको छ।
यस्तै ओमनको जेलमा रहेका तीन जना नेपालीलाई १० वर्षदेखि २५ वर्षसम्म जेल सजाय तोकिएको छ।
यो त श्रम स्वीकृति लिएर विदेश गएकाको तथ्यांक मात्रै हो। श्रम स्वीकृति नलिई गएका र अध्ययनका सिलसिलामा विभिन्न देशमा पुगेका नेपाली यो भन्दा धेरै संख्यामा विदेशी जेलमा रहेको अनुमान छ।
कुन देशको जेलमा कति नेपाली ?
मलेसिया
जेलमा– २०५
मृत्युदण्ड– १६
सजाय तोक्न बाँकी– १९०
यूएई
जेलमा– १८५
मृत्युदण्ड– १
आजीवन कारावास– ४
१ वर्षदेखि १५ वर्षसम्म सजाय तोकिएका– ५०
तीन महिना सजाय तोकिएका– ७५
सजाय तोक्न बाँकी– ४८
जरिवाना तोकिएका– ७
कुवेत
जेलमा – ५८
मृत्युदण्ड– ३
आजीवन कारावास– ९
१० वर्षदेखि १५ वर्षसम्म जेल सजाय तोकिएका– ४२
सजाय तोक्न बाँकी–४
कतार
जेलमा– ३५
आजीवन कारावास– ३
एक वर्षदेखि १५ वर्षसम्म जेल सजाय तोकिएका–१३
सजाय तोक्न बाँकी– १८
जरिवाना तोकिएका– १
साउदी अरब
जेलमा– ५४
मृत्युदण्ड– ५
१० वर्षभन्दा कम जेल सजाय तोकिएका– २
सजाय तोक्न बाँकी– ३७
जरिवाना तोकिएका– १०
बहराइन
जेलमा – ५
१० वर्षदेखि २५ वर्षसम्म जेल सजाय तोकिएका नेपाली– ५
ओमन
जेलमा– ३
१० वर्षदेखि २५ वर्षसम्म जेल सजाय तोकिएका– ३