काठमाडौं– स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमित चीनको हुवानमा रहेका १८० नेपालीलाई भाइरस संक्रमण नभएको पुष्टि भएपछि मात्र नेपाल ल्याइने बताएका छन्।
संघीय प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुकाे जिज्ञासामा मन्त्री ढकालले भने, ‘१८० विद्यार्थीले नेपाल आउन फाराम भरेका छन्। उनीहरूलाई त्यहाँबाट ल्याउनुअघि परीक्षण हुन्छ। रिपोर्ट सकारात्मक आयो भने चीन सरकारले पठाउँदैन। नहुने निश्चित भएपछि मात्र हामीले ल्याउने हो ।’
मन्त्री ढकालले चीनमा रहेका नेपाली ल्याउन र ल्याएपछि अरूलाई संक्रमण नहोस् भन्नेमा पनि संवेदनशील हुनुपर्ने भएकाले सोहीअनुसार व्यवस्थापन गरिएको जानकारी दिए। उनले भने, ‘जोखिम नहुने सुनिश्चित गरेर मात्र ल्याउनेछौँ ।’
उनले चीनबाट ल्याइने १८० नेपालीलाई कहाँ राख्ने भन्ने निक्र्योल भइसकेको जानकारी दिए। तर उनले ठाउँ भने बताएनन्।
उनले भने, ‘उनीहरूलाई सकेसम्म बस्तीभन्दा टाढा राख्ने योजनामा सरकार छ।’ उनले हुवान प्रान्तमा विमान नचलेकाले कसरी ल्याउने भन्नेमा बेइजिङस्थित नेपाली दूतावास समन्वय भइरहेको बताए। चीनमा रहेका नेपाली संक्रमणको भयबाट बाहिर छन् भन्ने सुनिश्चित नभएको बताए।
मन्त्री ढकालले भने, ‘रोग संक्रमित नभए पनि यहाँ ल्याएपछि उनीहरूलाई न्यूनतम पनि १४ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ। भाइरसको पुष्टि नभएपछि मात्र परिवारमा जान दिइनेछ।’
उनले संक्रमित भइहालेमा उनीहरूको उपचार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड अनुसार नै हुने बताए। चीनबाट ल्याउने बेलासम्म उनीहरूलाई राख्ने ठाउँको टुंगो लगाउने स्वास्थ्यमन्त्री ढकालले बताए।
उनले भने, ‘संक्रमण भएको पुष्टि भएमा ३ वटा अस्पतालको ४३ बेडको व्यवस्था गरेका छौं।’ उपत्यकाबाहिर पोखरा, चितवन, भैरहवामा हेल्प डेस्कको व्यवस्था गरेको जानकारी उनले दिए। यस्तै रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिमका राखिएको छ।
जनवरी ९ मा हुवान प्रान्तबाट पढेर आएका एक विद्यार्थीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताउँदै मन्त्री ढकालले अन्य शंकास्पद १३ जनामा परीक्षण गर्दा संक्रमण नभएको पाइएको उनले बताए।
रोगबाट कसरी बच्ने भनेर सरकारले आन्तरिक तयारी गरेको जानकारी पनि उनले गराएका छन्।
उनले भने, ‘प्रधानमन्त्रीको नेतृत्वमा दुई पटक बैठक बसेका छौं । योजना बनाएर लागिपरेका छौं । स्वास्थ्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति र स्वास्थ्य सचिवको नेतृत्वमा कार्यकारी कमिटी बनाएका छौँ।’
उनले सरुवा रोगसम्बन्धी ३०० बेडसम्मको अस्पताल बनाउने र त्यहीअनुसारको जनशक्तिको व्यवस्थापन गर्ने तयारीमा सरकार जुटेको बताए।
सांसदहरु दिलेन्द्रप्रसाद बडू, दिव्यमणि राजभण्डारी, बालकृष्ण खाण लगायतले कोरोना भाइरस संक्रमण रोक्न र चीनको हुवानबाट फर्कन चाहेका नेपाली विद्यार्थीलाई तत्काल ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए।