काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेलधुरा आलिताल गाउँ कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको छ। आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुन जाने क्रममा शुक्रबार दिउँसो करिब १ बजे जोशीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।
आलितालभन्दा करिब पाँच सय मिटरमाथि चौरबण्डले भन्ने स्थानमा नकाबधारी समूहले जोशीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको डिएसपी ददिराम न्यौपानेले जानकारी दिए। जोशीको हात, खुट्टालगायत शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेकोले थप उपचारका लागि धनगढी पठाइएको न्यौपानेले बताए।
प्रहरीका अनुसार जोशी सवार से६प ७९२६ नम्बरको मोटरसाइकल पनि तोडफोड गरिएको छ। जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भने भागेर जोगिएकी छिन्।
प्रहरीले कुटपिटमा संलग्नको खोजि भइरहेको बताएको छ।