सोमबार, असोज २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • व्यापारघाटा ६.१ प्रतिशत घट्यो, निर्यात बढाउन पाम आयल र भटमासको तेलको ठूलो योगदान

व्यापारघाटा ६.१ प्रतिशत घट्यो, निर्यात बढाउन पाम आयल र भटमासको तेलको ठूलो योगदान

चालु आवको ६ महिनामा देशको व्यापारघाटा ६.१ प्रतिशतले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।
 |  शुक्रबार, माघ १७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १७, २०७६

काठमाडौं – चालु आवको ६ महिनामा देशको व्यापारघाटा ६.१ प्रतिशतले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा व्यापारघाटा ३२.२ प्रतिशत बढेको थियो।

अर्थ मन्त्रालयले प्रकाशित गरेको नेपालको आर्थिक परिदृश्यअनुसार चालु वर्षको पहिलो ६ महिनामा आयात ४.०४ प्रतिशतले कमी आएर ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशत बढेर ७ खर्ब २३ अर्ब ९४ करोड थियो।

पुस महिनासम्म भारतबाट आयात ९.१ प्रतिशत घटेको छ भने चीनबाट १२.१ प्रतिशत र अन्य मुलुकबाट ०.४ प्रतिशतले बढेको छ।

नेपालमा आयातित पाँच मुख्य वस्तुमा डिजेल १०.९ प्रतिशत, स्टिल पाता (एसएस बिलेट) ४२.४ प्रतिशत, पेट्रोल ०.५ प्रतिशत, स्टिलको कच्चा पदार्थ (एचआर सिट) ०.२ प्रतिशतले घटेको छ।

तयारी कपडा आयात २.९ प्रतिशतले बढेको अर्थले जारी गरेको तथ्यांकमा उल्लेख छ।

आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने स्वदेशमै औद्योगिक कच्चा पदार्थ उत्पादन बढाउने एवं विलासीजन्य वस्तुको आयातमा निरुत्साहन गर्ने गरी सरकारी नीति रहेका कारण आयातमा कमी आएको अर्थ मन्त्रालयको दाबी छ।

जलविद्युत् उत्पादन वृद्धि हुँदा बिजुली आयातमा कमी, सिमेन्ट क्लिङ्करको आन्तरिक उत्पादनमा भएको वृद्धिका कारण ती सामग्री आयातमा कमी तथा सवारीसाधनको आयात व्यवस्थित गर्न गरिएको नीतिगत व्यवस्थाका कारण पनि ती सामग्री आयातमा कमी आउँदा समग्र आयात घटेको हो।

जसका कारण व्यापारघाटा घटेको अर्थ प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए।

चालु वर्षको पहिलो ६ महिनामा निर्यात २६.१ प्रतिशतले वृद्धि भएर ५७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ।

गत आवको सोही अवधिमा निर्यात १०.३ प्रतिशतले बढेर ४५ अर्ब ४१ करोड पुगेको थियो। निर्यातमा भारतर्फ ४८.८ प्रतिशतले बढेको छ भने चीन र अन्य देशतर्फ क्रमशः ८.५ र ३.८ प्रतिशत घटेको छ।

यस अवधिमा पाम आयलको निर्यात ४९२.१ प्रतिशत र भटमासको तेल (प्रशोधित) १२६९.५ प्रतिशतले बढेको छ। पाम आयल र भटमासको तेल विदेशबाट कच्चा पदार्थ ल्याई नेपालमा प्रशोधन गरी बेच्ने गरिएको छ।

केही समयअघि भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएको छ। अब नेपालमा उत्पादित पाम आयलको निर्यात ठप्प हुनेछ।

अर्थ मन्त्रालयका अनुसार सेन्थेटिक यार्नको निर्यात ९.५ प्रतिशत घटेको छ। ऊनी गलैँचा कार्पेट ३.४, तयारी कपडा ८.४ र अन्य वस्तुको निर्यात ९.४ प्रतिशतले घटेको छ।

प्रकाशित: Jan 31, 2020| 15:35 शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्