शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गण्डकीका ९ जिल्लामा सकियो कांग्रेसको वडा अधिवेशन, बाग्लुङ र नवलपुरमा सोमबार

गण्डकीका ९ जिल्लामा सकियो कांग्रेसको वडा अधिवेशन, बाग्लुङ र नवलपुरमा सोमबार

नेपाली कांग्रेसले गण्डकीका ११ मध्ये ९ जिल्लामा शुक्रबार र शनिबार वडा अधिवेशन सम्पन्न गरेको छ भने दुई जिल्लामा सोमबार अधिवेशन हने जनाएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

पोखरा- नेपाली कांग्रेसले गण्डकीका ११ मध्ये ९ जिल्लामा शुक्रबार र शनिबार वडा अधिवेशन सम्पन्न गरेको छ भने दुई जिल्लामा सोमबार अधिवेशन हने जनाएको छ। 

७५९ वडा रहेको गण्डकीमा नवलपुरका ९२ र बागलुङका ८५ वटाबाहेक सबैजसो वडाको नतिजा आइसकेको छ। धेरैजसो वडामा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन अधिकृतहरूले बताएका छन्। 

पोखरा- २० को अधिवेशन बाढीपहिरोका कारण २२ भदौका लागि सारिएको छ। नवलपुरमा पनि जताततै बाढी र पहिरोले अवरोध गरेका कारण स्थगित गर्नुपरेको नेपाली कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले बताए। 

'बाढीपहिरोले गाउँ छिर्न समस्या छ। अहिले पनि तीनवटा गाउँपालिकाका मतदान अधिकृतलाई हिँडाएरै पठाएका छौँ,' उनले भने, '२१ गते नै सबै वडाको नतिजा आउँछ। धेरैले सर्वसम्मत चयन गर्छन्।' 

सबैभन्दा धेरै वडा रहेको स्याङ्जाका ९७ मध्ये ८४ वटा वडामा सर्वसम्मत कार्यसमिति चयन भएको छ। केही वडाको निर्वाचन परिणाम अझै आउन बाँकी छ। मनाङमा भने वडासँगै जिल्ला नेतृत्वसमेत टुंग्याइएको छ। यद्यपि, परिणाम घोषणा हुन भने बाँकी छ। 

१४औँ महाधिवेशनमा मनाङ कांग्रेसले नेपालमै सबैभन्दा पहिलो जिल्ला सभापति दिएको हो। शंकर गुरुङलाई सभापति बनाउने निर्णय गरिएको सचिव सुरेन्द्र गुरुङले जानकारी दिए। ‘हाम्रोमा कहिल्यै मतदान गर्नुपर्दैन। सर्वसम्मत रुपमै पार्टी चल्छ,' उनले भने, 'सानो जिल्ला छ। मतदानमा गयो भने झन् विभाजन हुन सक्छ। त्यसैले सहमतिमै नेतृत्व हस्तान्तरण हुन्छ।' उनका अनुसार सबै पालिकाको नेतृत्व पनि करिब सहमति नजिक छ। यहाँको वडा तहमा सर्वसम्मत नेतृत्व टुंग्याइएको हो। 

पोखरा- २६ मा पुन: मतदानको माग

पोखरा- २६ मा पुनः निर्वाचन गराउन माग गर्दै केही क्रियाशील सदस्यहरूले निर्वाचन अधिकृतलाई निवेदन दिएका छन्। अधिवेशनमा धेरै क्रियाशील सदस्यलाई सूचना नदिइएको भन्दै उनीहरूले अधिवेशन बदर गराउन माग गरेका हुन्।

'दुई जना जिल्ला सचिव भएको वडा हो यो। तर, यहीँका क्रियाशील सदस्यले वडा चुनावबारे थाहै पाएनन्,' एक सदस्य सुदीपराज ढुंगानाले भने, 'यो अधिवेशनको निर्णय हामीलाई मान्य छैन। चुनाव पुनः हुनुपर्छ।' वडाका आठ जना क्रियाशील सदस्यहरूले केन्द्रीय कार्यसमिति र निर्वाचन समितिलाई बोधार्थ पठाएर उजुरी दिएका हुन्। 

वडा अधिवेशन सकिएसँगै २७ भदौमा पालिकास्तरीय अधिवेशन हुनेछ। गण्डकीमा ८५ वटा स्थानीय तह छन्। त्यसमा वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् । क्षेत्रीय प्रतिनिधि निर्वाचित भएसँगै विभिन्न पालिकामा दाकेदारी प्रस्तुत हुन थालेका छन्। केहीले उम्मेदवारी सार्वजनिक गरिसकेका छन् भने कसैले आन्तरिक लविइङ गरिरहेका छन्।

प्रकाशित: Sep 05, 2021| 18:26 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...