काठमाडौं– काठमाडौंको दशरथ रंगशालामा जारी नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल म्याचको पहिलो हाफ गाेलरहित बराबरीमा सकिएको छ।पहिलो हाफमा दुवै टोलीले पाएका केही राम्रा मौका सदुपयोग गर्न सकेनन्।
भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले आज तीन परिवर्तन गरेको थियो। अघिल्लो खेल खेलेका अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठ आजको खेलमा पहिलो रोजाइमा छैनन्। त्यसको ठाउँमा सुजल श्रेष्ठ, मनिष डाँगी र आसिस लामाले पहिलो रोजाइमा स्थान पाएका छन्।
यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो। नेपालका लागि अन्जन विष्टको गोलमा अग्रता लिँदा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएका थिए। नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्।