बिहीबार, असोज २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जेलबाट छुटेपछि चन्दा आतंक मच्चाउँदै सुमन, सिन्धुपाल्चोकका व्यवसायी त्रसित

जेलबाट छुटेपछि चन्दा आतंक मच्चाउँदै सुमन, सिन्धुपाल्चोकका व्यवसायी त्रसित

लागू औषध तथा जबर्जस्ती रकम असुली मुद्दामा जेल सजाय भोगेर केही समय अघिमात्र जेलमुक्त भएका सुमन श्रेष्ठ (ज्यापु) ले चन्दा आतंक मच्चाएको गुनासो सिन्धुपाल्चोकका व्यवसायीले गरेका छन्।
 |  बिहीबार, माघ १६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १६, २०७६

काठमाडौं– लागू औषध तथा जबर्जस्ती रकम असुली मुद्दामा जेल सजाय भोगेर केही समय अघिमात्र जेलमुक्त भएका सुमन श्रेष्ठ (ज्यापु) ले चन्दा आतंक मच्चाएको गुनासो सिन्धुपाल्चोकका व्यवसायीले गरेका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ का श्रेष्ठले धम्की दिएर जबर्जस्ती चन्दा लिइरहेको व्यापारीको गुनासो छ।

श्रेष्ठले सिन्धुपाल्चोकका निर्माण व्यवसायी तथा अन्य व्यापारीलाई हतियार देखाएर ज्यान मार्ने धम्की दिँदै जबर्जस्ती रकम उठाउने गरेको स्थानीय एक व्यवसायीले बताए ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार श्रेष्ठ पाकेटमार समूहका नाइके हुन्। उनलाई प्रहरीले पटक पटक पाकेटमारीको कारवाही गरिसकेको छ। उनले काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा समूह नै बनाएर पाकेटमारी गर्दै आएको प्रहरीको भनाइ छ ।

उनले सिन्धुपाल्चोकका युवाहरुलाई आफ्नो समूहमा समावेश गरी पाकेटमारी, चोरी, लुटपाट, चन्दा असुलीजस्ता कार्यमा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पछिल्लो समय भने उनी लागू औषध मुद्दामा जेल परेका थिए । जेलबाट निस्केपछि श्रेष्ठले सिन्धुपाल्चोकका केही ठेकेदारलाई धम्क्याएर रकम माग गरेको बताइएको छ ।

सिन्धुपाल्चोकका एक निर्माण व्यवसायीले भने, ‘मागेको रकम नदिए परिवारकै तल–माथि हुने धम्की दिन्छ । हतियार समेत लिएर खुलेआम हिँड्छ। हामीलाई बाहिर निस्कन पनि मुस्किल छ।’

परिवारलाई मार्ने धम्की दिएका कारण पीडितहरु प्रहरीमा उजुरी गर्न पनि डराउने गरेका छन्। ‘हामीले प्रहरीलाई खबर गरेर के गर्नु ! ऊ एकदिन छुटिहाल्छ । प्रहरीले सधै हाम्रो परिवारलाई सुरक्षा दिँदैन,’ एक व्यापारीले भने।

श्रेष्ठले काठमाडौंको बौद्ध क्षेत्रमा समेत जबर्जस्ती चन्दा माग्ने गरेको स्थानीय व्यापारीले बताएका छन्। उनले नक्कली सुन तथा नक्कली अमेरिकी डलर देखाएर समेत विभिन्न व्यक्तिलाई ठगेको भन्ने गुनासो आएको प्रहरीले बताएको छ। सस्तोमा सुन र डलर पाइने भन्ने एकान्तमा बोलाउने अनि हतियार देखाएर साथमा भएको पैसा लुट्ने गरेको बताइएको छ ।

प्रकाशित: Jan 30, 2020| 15:52 बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।