काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले थप ४४ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप १० दिनभित्र नेपाल आइपुग्ने बताएका छन्। विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलनका लागि आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै राज्यमन्त्री श्रेष्ठले चीनबाट सरकारले खरिद गरेको खोपमध्ये थप ४४ लाख डोज १० दिनभित्र आइपुग्ने जानकारी गराएका हुन्।
खोपको भुक्तानीका लागि रकम पठाइसकिएको उनको भनाइ छ। मन्त्री श्रेष्ठले ३३ प्रतिशत जनतालाई दशैंसम्ममा खोप दिने सरकारको योजना रहेको समेत बताए।
‘सरकारले जसरी पनि चाडै २ करोड ५० लाख खोप ल्याउने तयारी गरेको छ। जसमा भेरोसेल खोप ४० लाख आउने सुनिश्चित भइसकेको छ,’ उनले भने।
त्यस्तै, १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोडेर्ना खोपको पनि टुंगो लागिसकेको र बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।