काठमाडौं– देशमा आर्थिक गतिविधि कम भइरहेको चर्चा चलिरहेका बेला उद्योगहरुको उत्पादन क्षमता उपयोग समेत घटेको पाइएको छ। अर्थात हाम्रा उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन भइरहेका छैनन्।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ मा गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालमा सञ्चालित प्रमुख उद्योगहरुको क्षमता उपयोग २.६ प्रतिशतले घटेको पाइएको हो ।
अघिल्लो आर्थिक वर्षमा ती उद्योगहरुको क्षमता उपयोग ५९.७ प्रतिशत रहेकोमा गत आर्थिक वर्र्षमा उद्योगको क्षमता उपयोग ५७.१ मा सीमित भएको छ ।
नेपाल राष्ट्र बैंकले आठ जिल्लालाई मुख्य आधार बनाई ५७ जिल्लामा गरेको अध्ययनबाट उक्त निष्कर्ष निकालेको हो । राष्ट्र बैंकले काठमाडौं, विराटनगर, वीरगन्ज, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीलाई मुख्य आधार बनाएर अध्ययन गरेको थियो ।
अध्ययन अनुसार सञ्चालित उद्योगहरुमध्ये सबैभन्दा बढी क्षमता उपयोग भएको वियर उद्योग हो। वियर उद्योगको उपयोग क्षमता ९९.७ प्रतिशत छ। सबैभन्दा कम क्षमता उपयोग टायर उद्योगको (१५.८ प्रतिशत) छ।
त्यस्तै सिमेन्ट उद्योग थपिएसँगै सिमेन्ट उद्योगहरुको कुल क्षमता उपयोग घटेको छ।
अध्ययन्ले समेटेकामध्ये, तोरीको तेल, भटमासको तेल, प्रशोधित दुध, गहुँको पिठो, चिनी, चकलेट, मदिरा, वियर, धागो, सिन्थेटिक कपडा, कागज, जुटका सामान, कागज, रोजिन, सिमेन्ट, फलामको रड लगायतको कुल उत्पादनमा भने वृद्धि भएको पाइएको छ ।
क्षेत्रगत रुपमा काठमाडौं क्षेत्रमा विशेष गरी प्रशोधित दुध, पश्मिना, चाउचाउ, औषधिजन्य वस्तु र जुत्तालगायतका उत्पादन हुने गरेको छ ।
विराटनगर क्षेत्रमा वनस्पति घिउ तथा तेल, अन्य खाद्य पदार्थ, जुटका सामान, धातुका उपकरण, सिमेन्टलगायतको उत्पादन हुन्छ।
जनकपुर क्षेत्रमा मदिरा, कागज, सिमेन्ट उत्पादन हुन्छ भने वीरगञ्ज क्षेत्रमा वनस्पति घिउ तथा तेल, प्रशोधित दुध, पशुदाना, हल्का पेय पदार्थ, चुरोट, लत्ताकपडा, सिमेन्ट, प्रशोधित छाला, औषधी, फलामको छड तथा पत्ति, पोखरा क्षेत्रमा विस्कुट, चाउचाउ उत्पादन हुने गरेको छ ।
त्यस्तै भैरहवा क्षेत्रमा गहुँको पिठो, वियर, औषधि, सिमेन्ट, नेपालगञ्ज क्षेत्रमा तोरीको तेल, गहुँको पिठो, सिमेन्ट तथा धनगढी क्षेत्रमा गहुँको पिठो, चिरेको काठ, रोजिनलगायतका वस्तुको उत्पादन हुने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ।