बुधबार, भदौ ३, २०८३

'नेप्से'को वर्गीकरणमा १२ कम्पनीमात्र राम्रा

नेपाल स्टक एक्सचेन्जले १२ वटा वाणिज्य बैंकहरुलाई सबैभन्दा राम्रो वर्ग ‘ए’ मा पारेको छ भने बाँकी सम्पूर्ण कम्पनीहरु सामान्य र खराब रहेको जनाएको छ।
 |  मंगलबार, माघ १४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १४, २०७६

काठमाडौं- नेपाल स्टक एक्सचेन्जले १२ वटा वाणिज्य बैंकहरुलाई सबैभन्दा राम्रो वर्ग ‘ए’ मा पारेको छ भने बाँकी सम्पूर्ण कम्पनीहरु सामान्य र खराब रहेको जनाएको छ। नेपाल स्टक एक्सचेन्जले मंगलबार चालू आर्थिक वर्षको दोस्रो त्रैमास सकिँदा कम्पनीहरुको प्रस्तुतीकरणका आधारमा सो वर्गीकरण गरेको हो। नेप्सेले वर्गीकरण गर्दा १२ वटा वाणिज्य बैंकहरु भने 'ए' वर्गमा परेका हुन्।

राम्रो कम्पनीको सूचीमा परेका १२ वटा वाणिज्य बैंकहरुमा, बैंक अफ काठमाडौं, सिटिजन्स इन्टरनेशनल बैंक, ग्लोबल आइएमई बैंक, कुमारी, लक्ष्मी, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट, नेपाल एसविआई, एनआईसी एसिया, एनएमबी, सानिमा र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको नेप्सेले जनाएको छ।

नेप्सेको सूचीकरणमा हाल २११ कम्पनीहरु छन्। सो मध्ये १७३ सूचीकृत कम्पनीहरु खराब रहेको नेप्सेले जनाएको छ। नेप्सेले 'जेड' वर्गीकरणमा परेका सम्पूर्ण कम्पनीहरु खराब रहेको संकेत गरेको छ। ठिकै मानिएका ‘बी’ वर्गमा कुनै पनि कम्पनी परेका छैनन् भने 'जी’ वर्गमा ३२ वटा कम्पनीहरु परेका छन्।

सो वर्गमा अधिकांश हाइड्रोपावर र उत्पादनमूलक कम्पनीहरु परेका छन्। त्यस्तै सबैभन्दा खराब वर्ग ‘जेड’ समूहमा बजारमा राम्रो भनिएका नविल बैंकसहित बाँकी १४ वटा वाणिज्य बैंक पनि परेका छन्। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सदेखि बन्द भइसकेका विराट सु, बुटवल स्पिनि मिल्ससम्म 'जेड' समूहमा परेका छन्।

कतिपय कम्पनीहरुले क्रेडिट रेटिङ नगराएका तथा गरे पनि नेप्सेमा सो विवरण पेश नगरेका कारण 'ए’ र 'बी’ वर्गमा नसमेटिएको देखिन्छ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५, को विनियम ११ बमोजिम कम्पनीहरुको वर्गीकरण सूची सार्वजनिक गर्दै आएको छ। प्रकाशित वर्गीकरणबाट असन्तुष्ट कम्पनीहरुलाई कारणसहित ३५ दिन भित्र दाबीसहितको आवेदन दिन समय दिइएको छ।

'ए’ र ’बी’ वर्गमा पर्ने मापदण्ड यस्तो

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार वर्ग 'ए’ मा रहने संगठित संस्थाको कम्तीमा एक अर्ब चुक्ता पूँजी भई सञ्चालन भएको तीन वर्ष पूरा भएको, तीन वर्षदेखि नाफामा रही लाभांश बाँडेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ प्राप्त गरेको, तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरेको हुनुपर्ने व्यवस्था रहेको छ। त्यस्तै नेप्सेमा सूचीकृत भएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्छ।

वर्ग 'ए' जस्तै ’बी’मा पनि तोकिएको प्रावधान पूरा भएको कम्पनी मात्र पर्ने गर्दछन्। 'बी’ वर्गमा पर्ने कम्पनीले ५० करोड चुक्ता पूँजी कायम गरेको, सूचीकृत भएको कम्तीमा तीन वर्ष भएको, विगत तीन वर्षमा दुई आर्थिक वर्ष नाफा गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट कम्तीमा औसत भन्दा एक तह मूनीको रेटिङ प्राप्त गरेको र सञ्चित नोक्सानी नभई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्छ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ (६) 'ग' मा सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म 'जी' वर्गमा राखिने उल्लेख छ। यसरी 'जी’ वर्गको वर्गीकरणमा पनि समावेश हुन नसक्ने कम्पनी 'जेड’ वर्गमा पर्छन्।

हेर्नुस् वर्गीकरण 

प्रकाशित: Jan 28, 2020| 16:40 मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्