चीन - चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरुले ८१ जनाको मृत्यु भएको र झण्डै तीन हजार भन्दा बढी संक्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।
संक्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको आइतबार अबेर राती सो आयोगले जनाएको छ। गत २४ घण्टायता ७६९ जना नागरिकमा यो भाइरसको सङ्क्रमण देखिएको छ।
यस कोरोना भाइरसबाट निको भएर एक हजार भन्दा बढी व्यक्ति अस्पतालबाट घर फर्किएका छन्। घर फर्किएकाहरुलाई पनि विशेष निगरानीमा राखिएको छ। उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
सङ्क्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ।
ती क्षेत्रमा विभिन्न किसीमले सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ। सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरुको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ।
मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसार पसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ।
सङ्क्रमणले नेपालसहित अमेरिका, अष्ट्रेलिया, क्यानडा, सिंगापुर, जापान, भियतनाम, मलेसिया, फ्रान्स, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको छ।
यस सङ्क्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ।
चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन्। यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरुको भनाई छ।
उनीहरुका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन्। यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्को एक समस्या हो।
यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा सुरु गर्न लागेको जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयले उहानस्थित आफ्ना कन्सुलर कार्यालयमा कार्यरत कर्मचारी र अरु अमेरिकीलाई उद्धार गर्न चीनको उहानतर्फ अमेरिकी विमान मङ्गलबार प्रस्थान गर्ने बताएको छ।