ओखलढुङ्गा- गाउँबाट बिरामी लिएर हिँडेको जीप दुर्घटना हुँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ ।
चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा बा २१ च ७३६१ नम्बरको बोलेरो दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक विश्वकर्मा बिरामी थिए। उपचारका लागि उनलाई ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल ल्याउँदै गरेको अवस्थामा बोलेरो आज बिहान ६ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिए ।
दुर्घटनामा परेर चालक सोही ठाउँका जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन् ।
बोलेरो सिद्धडाँडाबाट करिब ५०० मिटर तल खसेकाे थियाे। साँघुरो सडकका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।