काठमाडौं- नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी २३ करोड ६० लाख राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुईवटा फर्मविरुद्ध मुद्दा दायर गरेको छ।
नक्कली कर बिजक प्रयोग गरी १४ करोड ८७ लाख राजश्व छलीको अभियोगमा काठमाडौं महानगरपालिका–१७ स्थित रेजिङ इन्टरनेशनलका संचालक सञ्जीव मास्केविरुद्ध विभागले आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
मास्केविरुद्ध बिगोको दोब्बर जरिवाना र ३ वर्ष कैद सजायको माग दाबी गरिएको छ। रेजिङ इन्टरनेशनलले वस्तु तथा सेवा खरिद नै नगरी नक्कली कर बिजक खरिद मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको विभागको दाबी छ।
यसले मुअकरतर्फ ४ करोड ३२ लाख ६९ हजार २ सय ८३ र आयकरतर्फ १० करोड ५४ लाख ३९ हजार ५ सय ५९ रुपैयाँ राजस्व चुहावट गरेको विभागको दाबी छ।
यस्तै नक्कली कर विजक प्रयोग गरी ८ करोड ६२ लाख राजस्व छली गरेको अभियोगमा हेटौडा उप महानगरपालिका– २ स्थित हनुमान कन्स्ट्रक्सनका शालिकराम न्यौपानेसहित २ जनाविरुद्ध विभागले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
विभागले यसविरुद्ध विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद मागदाबी गरेको छ।
वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूरमा संलग्नता रहेको विभागको दाबी छ।
उसले मुअकरतर्फ २ करोड ५० लाख १४ हजार १ सय ९८ रुपैयाँ र आयकर तर्फ ६ करोड १२ लाख ४ हजार ६ सय २ रुपैयाँ राजस्व चुहावट गरेको विभागको दाबी छ।