काठमाडौं- ठूला लगानीकर्ताले बजारमा चलखेल गर्दा सेयर बजार अस्थिर भइरहेको छ।
पुसको अन्तिम साता लगातार सेयर बजार परिसूचक (नेप्से) ९५ अंकले उकालो लागेको थियो। तर विस्तारै गतसाता एक दिन बढ्ने र एक दिन घट्ने गरेको नेप्से साताको पहिलो दिन आइतबार नै २०.७९ अंकले ओरालो लागेर १२७६.६८ अंकमा अडिएको छ।
बजार ओरालो लाग्दा लगानीकर्ताहरुको मनोवल खस्किएको थियो। सोही समयमा केही ठूला लगानीकर्ताले एकैपटक ह्वात्तै लगानी बढाए जसका कारण बजार उकालो लागेको थियो। उकालो लागेको मौका छोपी तिनै लगानीकर्ताहरुले आफ्नो नाफा सुरक्षित गर्न लाग्दा बजारमा पुन गिरावट आएको हो।
गत सातासम्म दैनिक २ अर्ब ९ करोडसम्मको कारोबार भएको बजारमा आइतबार कारोबार रकममा पनि गिरावट आएको छ। यसदिन बजारमा १७४ कम्पनीको २६ लाख ६० हजार कित्ताको ९६ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
यसदिन सम्पूर्ण समूहगत परिसूचक पनि ओरालो लागेको छ। पछिल्लो समयमा कर्जाको माग भएको र विस्तारै तरलता अभाव हुन थालेसँगै बैंकहरुको अन्तरबैंक व्याजदर पनि बढ्न थालेकोले बैंकहरुले सेयर धितो कर्जा प्रबाह गर्न रोकेका कारण पनि बजार ओरालो लाग्न थालेको सेयर बजार विश्लेषकहरुको दाबी रहेको छ।
यसदिन धेरै कारोबार गर्ने कम्पनीहरुमा डिप्प्रोक्स लघुवित्त वित्तिय संस्था, नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक तथा सिवम् सिमेन्ट रहेका छन्।
त्यस्तै घटेको बजारमा पनि कमाउनेमा जोशी हाइड्रोपावर,एनआमइविएल प्रगति फन्ड लगायतका १३ कम्पनी रहेका छन् भने गुमाउनेमा जानकी फाइनान्स, मिथिला लघुवित्त, रिडी हाइड्रोपावरका लगानीकर्ता छन्।
