सुर्खेत- हुम्लाको सिमिकोट गाउँपालिका– ८ की गोला शाही कुष्ठरोग लागेपछि समाजबाट तिरस्कृत भईन्।
शरीरमा कुष्ठरोग झाङ्गिदै गएपछि घरपरिवार र समाजबाट लखेटिईन्। अरुलाई पनि सर्नसक्ने भन्दै परिवारकै मान्छेले लखेटे।
त्यसपछि उनी जंगलको ओढारमा पुगिन्। कुष्ठरोगले हातगोडा झर्दै गए। १८ वर्षसम्म अनकन्टार जंगलको ओढारमा एक्लै बिताईन्। गोलाको दर्दनाक पीडा हुम्लाका सञ्चारकर्मीहरुले राज्यका निकायसम्म पुर्याए। १८ वर्षपछि उनको काठमाडौंमा उपचार भयो।
त्यस्तै अदानचुली गाउँपालिका–१ हुम्लाका जयधन थापालाई लामो समयदेखि कुष्ठ रोगले च्याप्यो। समाजले पूर्व जन्मको पाप भनेपछि कुष्ठरोगको उपचार गरेनन्। वर्षाैसम्म रोग लुकाएर बसे। उनलाई पनि सञ्चारकर्मीले कुष्ठरोगी भन्ने थाहा पाए। उपचारको लागि पहल थाले।
कुष्ठरोग सम्बन्धी उपचार गर्ने साइनिङ अस्पताल सुर्खेतसँग सहकार्य गरिदिए। थापाले हाल कुष्ठरोगको नियमित उपचार गरिरहेका छन्।
हुम्लाकै लालबहादुर बोहोरालाई पनि कुष्ठरोगले च्यापेपछि समाजले बहिस्कार गर्न थाल्यो। कुष्ठरोगले लागेको थाहा पाएपछि समाजले बारम्बार तिरस्कार गर्न थाल्यो। समाजको तिरस्कार असहीय भएपछि बोहोराले समाजमा नबस्ने निधो गरे। घरखेत बेचेर बसाई सर्ने तयारीमा लागे।
बोहोराले बसाई सर्न लागेको घटना सञ्चारकर्मीले कानमा पुग्यो। उनलाई पनि सञ्चारकर्मीले नै साइनिङ अस्पतालसँग पहल गरिदिए। अहिले उनी साइनिङ अस्पतालमा नियमित औषधि उपचार गराइरहेका छन्।
शाही, बोहोर र थापा मात्रै होइन। अझै पनि दुर्गमका कुष्ठरोगीहरु राज्यको पहूँच बाहिर छन्। जनचेतना अभावका कारण कुष्ठरोगीलाई समाजले पूर्वजन्मको पापका रुपमा लिने गरेका छन्। जसले गर्दा कतिपय कुष्ठरोगीहरुले उपचार अभावमै ज्यान गुमाउने गरेका छन्।
स्थानीय र प्रदेश सरकारले पनि कुष्ठ रोग सम्बन्धी जनचेतना र उपचार सेवा दुर्गममा पुर्याउन सकेको छैन। कुष्ठ रोगीको पहिचान गर्न सरकारले प्रभावकारी योजना ल्याउन सकेको छैन। बरु प्रदेश सरकार भने कर्णालीका कुष्ठरोगीहरुको उपचारको जिम्मा गैर सरकारी संस्थाबाट सञ्चालित साइनिङ अस्पताल सुर्खेतमा भर परेको छ।
जाजरकोटमा कुष्ठरोगका बिरामी धेरै
साइनिङ अस्पताल सुर्खेतको तथ्यांक अनुसार कर्णाली प्रदेशका दश जिल्लामध्ये जाजरकोटमा सबैभन्दा बढी कुष्ठरोगका बिरामी भेटिएका छन्।
तथ्यांकअनुसार जाजरकोटमा चालु आर्थिक वर्षमा १८ जना नयाँ कुष्ठ रोगी भेटिएका छन्।
सुर्खेतमा १७, रुकुमपश्चिममा १४, सल्यानमा १३, दैलेखमा ११, डोल्पामा २, हुम्लामा २, जुम्लामा ५, कालिकोटमा १० र मुगुमा ३ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन्।
मुलुक कुष्ठरोग मुक्त भइसक्दा पनि कर्णालीमा एक हजार व्यक्तिमा ४ जना कुष्ठरोगको संक्रमित छन्। एक हजार व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा ४ जनामा कुष्ठ रोगको संक्रमण भेटिने गरेको आईएनएफले जनाएको छ।
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको तथ्यांकअनुसार गत ५ आर्थिक वर्षमा मात्रै कर्णालीमा ५ सय ४६ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन्।
जसमध्ये आर्थिक वर्ष ०७१/०७२ मा एकसय आठ जना, ०७२/०७३ मा एकसय १९, ०७३/०७४ मा एक सय १५, ०७४/०७५ मा पनि एक सय १५ र ०७५/०७६ मा ८९ जना नयाँ कुष्ठरोगका विरामी भेटिएका छन्। ६७ औं विश्व कुष्ठरोग दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा यो तथ्यांक सार्वजनिक गरीएको हो।
तथ्यांक अनुसार अधिकांश कुष्ठरोगका विरामी उपचाररत छन्। स्वास्थ्य निर्देशक रीता भण्डारी (जोशी) ले कर्णालीमा कुष्ठरोगीप्रति गरिने व्यवहार अन्त्य तथा रोग न्यूनिकरणका लागि स्वास्थ्य निर्देशनालयले विभिन्न कार्यक्रम गरिरहेको बताईन्।
प्रदेश सरकार लगायत साझेदारी संस्था साइनिङ अस्पताल र आईएनएफ सुर्खेतबाट सामाजिक तथा आर्थिक पुर्नस्थापनाका कार्यक्रम समेत जारी रहेको उनको नभाइ छ।
‘कुष्ठरोगप्रतिकोे भेदभाव समाजमा अँझै पनि जारी छ, कुष्ठरोगीलाई घरपरिवारबाट अलग राख्ने जस्ता अमानवीय क्रियाकलाप हुन्छन्’ उनले भनिन्, ‘कुष्ठरोगप्रतिकोे भेदभाव अन्त्य गरी रोग निवारण लागि आवाश्यक कार्यक्रम सञ्चालन गरेका छौँ।’
मुलुकभर तीन हजार नयाँ कुष्ठरोगी
तथ्यांक अनुसार देशभरमा तीन हजार दुई सय ८२ जना नयाँ कुष्ठरोगी छन्। तथ्यांक अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशमा सबैभन्दा कम अर्थात् ३ प्रतिशत कुष्ठरोगका विरामी रहेका छन्। त्यस्तै प्रदेश २ मा सबैभन्दा बढी अर्थात् ४५, प्रदेश ५ मा २२ मा प्रदेश १ मा १४, गण्डकी प्रदेशमा ८ र बागमती प्रदेश ३ मा ५ प्रतिशत कुष्ठरोगका बिरामी रहेका छन्।