काठमाडौं– गएको मंसिर २५ गते बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खेलाडी तथा खेल क्षेत्रमा सम्बद्ध व्यक्तिहरुको ठूलै जमघट थियो। प्रधानमन्त्री केपी ओली भर्खरै नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुलाई सम्बोधन गरिरहेका थिए।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे। रजत र कास्य पदक विजेतालाई क्रमशः ६ लाख र ३ लाख पुरस्कार दिने बताए। बस्नलाई समेत ठाउँ नपाएका पदक विजेता खेलाडीले प्रधानमन्त्रीको घोषणालाई तालीले स्वागत गरे।
१३औं सागमा नेपालले ऐतिहासिक जित हासिल गरिरहँदा अस्पतालको बेडमा रहेका प्रधानमन्त्री ओलीले कार्यक्रमको लाइभ टेलिभिजनमै हेरे।
सागमा हालसम्मकै सर्वाधिक पदक (५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ वटा पदक) जितेको खुसीसँगै प्रधानमन्त्रीको नगद पुरस्कार घोषणाले खेलाडीको हौसलामा चार चाँद लगाइदिएको थियो।
प्रधानमन्त्रीले निकै उत्साहित भएर घोषणा गरेको पुरस्कार रकम केही दिनमै पाइने अपेक्षा खेलाडीको थियो। तर, घोषणाको ४२ दिन बित्दा पनि खेलाडीले पुरस्कार रकम पाएका छैनन्। ‘डमी चेक’ थमाउने र पुरस्कार रकम नदिने नेपाली खेलकुदको पुरानो प्रवृत्ति फेरि दोहोरिएको छ।
चार वर्षअघि बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु कप फुटबलमा श्रीलंकालाई फाइनलमा हराएर स्वर्ण पदक जितेका खेलाडीलाई पनि तत्कालीन सरकारले जनही पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो। त्यो पुरस्कार रकम अहिलेसम्म खेलाडीले पाएका छैनन्।
त्यसपछि भएको सोलिडारिटी कपमा विजयी हुँदा घोषणा गरिएको २ लाख रुपैयाँ भने खेलाडीले पाए। ‘बंगबन्धुको पुरस्कार पनि यही हो’ भन्दै आफूहरुलाई त्यही दुई लाखमा चित्त बुझाउन भनिएको खेलाडीहरु बताउँछन्।
घोषणा गरेको पुरस्कार पनि खेलाडीलाई किन दिँदैन त सरकार ?
‘विगतमा के भयो, त्यतातिर नजाऔं। योपल्ट पहिले नै घोषणाको तयारी थियो। प्रधानमन्त्रीले गरेको घोषणा पनि कार्यान्वयन नहुने भन्ने हुन्छ र ? यो सरकारले दिने हो, दिन्छ,’ युवा तथा खेलकुद मन्त्रायलयका एक अधिकारीले केही दिनअघि भनेका थिए।
तर, साग सकिएको डेढ महिना हुल लाग्दा कुन पदक जित्ने खेलाडीले कति पुरस्कार पाउने र कुल कति पुरस्कार रकम बाँडिने भन्ने यकिनसमेत भएको छैन।
‘सागको बजेट अर्थ मन्त्रालयले दिने हो। साग सम्पन्न गर्न विभिन्न १६ वटा समिति बनेका छन्। व्यवस्थापनमा भएको खर्चको विवरण तत्काल नआए पनि खेलाडीलाई दिने भनिएको पुरस्कारको हिसाब तत्कालै आउँछ,’ ती अधिकारीले थपे । पहिले १२ करोडले पुग्ने बताइए पनि त्यसको दुई गुणा रकमले मात्र पुरस्कारको व्यवस्थापन गर्न सकिने खेलकुद मन्त्रालयको अनुमान छ।
‘यसबारे अर्थ मन्त्रालयमा विवरण पठाइसकिएको छ। अर्थले हुन्छ भनेपछि खेलकुद मन्त्रालयले पुरस्कार वितरणको प्रक्रिया क्याबिनेटमा पठाउँछ। क्याबिनेटले स्वीकृत गरेपछि खेलाडीले पुरस्कार पाउँछन्,’ खेलकुद मन्त्रालय अन्तर्गतको पुरस्कार घोषणा समितिका संयोजक अणप्रसाद न्यौपानेले नेपाल समयसँग भने ।
खेलाडीको हातमा पुरस्कार कहिले पर्ला त ?
‘यकिन मिति तोक्न सकिँदैन तर, प्रक्रिया सकिनेबित्तिकै पुग्छ,’ न्यौपाने भन्छन्।
उता, अर्थ मन्त्रायलले भने यसबारे अनभिज्ञता प्रकट गरेको छ। मन्त्रालयका उपसचिव ताराप्रसाद भुषालले भने, ‘हामीसँग पुरस्कार भनेर छुट्टै विवरण आएको छैन्। खेलकुद मन्त्रालयबाट वार्षिक विवरणमात्र प्राप्त भएको छ।’
नेपाली खेलाडीले चार महिनासम्म बन्द प्रशिक्षणमा रहेर सागको तयारी गरेका थिए। उनीहरुलाई न दशैं आयो न तिहार। दशैंमा दिइएकोे तीन दिन बिदा पनि उनीहरुले राम्रोसँग मनाउन पाएनन् । घरमा बस्दा पनि प्रशिक्षकले दिएको अनुशासनमा रहनुपर्ने बाध्यता थियो खेलाडीहरुलाई। सीमित प्रशिक्षण र स्रोतसाधनको भरमा खेलाडीहरुले राखेपले अपेक्षा गरेको भन्दा पनि बढी पदक जिते।
सागमा कराँतेतर्फ स्वर्ण जितेका एक खेलाडी भन्छन्, ‘हामीले देशका लागि खेल्ने हो, पैसाका लागि होइन। तर, सरकारले नै दिन्छु भनेपछि आशा चाहिँ हुने रैछ। घोषणा गरेको यत्रो समय भइसक्यो, पाइएको छैन। अहिले के भइरहेको छ, थाहा पनि छैन।’
मनकामना–पोखरा कपको पनि अधुरै
गत वर्ष पोखरामा सम्पन्न छैटौं मनकामना पोखरा कप फुटबल प्रतियोगिताको उपविजेताले ४ लाख ५ हजार पाउनुपर्नेमा ३ लाख ५०० रुपैयाँमात्रै पाएका छन्। त्यस्तै, उत्कृष्ट खेलाडी घोषित राजुकाजी नगरकोटीलाई दिने भनिएकोमा अहिलेसम्म पाएका छैनन्।
एन्फाले जारी गरेको कार्यतालिका अनुसार यस वर्षको मनकामना–पोखरा कप फुटबल प्रतियोगिता आगामी फागुन १ देखि १० गतेसम्म पोखरामै हुँदैछ। तर, गत सिजनको पुरस्कार पूरा वितरण नै भइसकेको छैन।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले भने खेलाडीले मोटरसाइकलको बदलामा पैसा नै मागेपछि समस्या आएको बताउँछन्।
अजितकुमारले पनि पाएनन्
अजितकुमार यादव एपीएफका धावक हुन्। गत वर्ष चैतमा उनले हङकङमा भएको तेस्रो एसियाली युथ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए। उनले तीन किलोमिटर दौड आठ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेका थिए।
आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमानमा पनि सुधार गरेका उनलाई नेपाल एथ्लेटिक्स संघले एउटा मोटरसाइकल र मासिक ६० हजार रुपैयाँ दिने घोषणा गरेको थियो। तर, उनले न मोटरसाइकल पाए, न मासिक रकम नै पाइरहेका छन्।
सोलिडारिटी कपको पुरस्कार एक वर्षमा
नेपालले मकाउलाई हराउँदै गत सिजनको सोलिडारिटी कपमा स्वर्ण पदक जित्यो। ऐतिहासिक जितलगत्तै तत्कालीन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले तीन लाख पुरस्कारको घोषणा गरेका थिए। उक्त पुरस्कार पाउन पनि खेलाडीले एक वर्ष पर्खिनुपर्यो।
खेल संघ, एन्फा, मन्त्रालयले घोषणा गरेको पुरस्कार पाउन खेलाडीले महिनौं, वर्षौं पर्खिनुपरेको छ। प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार कहिले पाउलान् त ?