मंगलबार, भदौ २, २०८३

मूल्यवृद्धि नियन्त्रण बाहिर जाँदै

यो वर्ष मूल्यवृद्धि नियन्त्रण बाहिर जान लागेको एक तथ्यांकले देखाएको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं- यो वर्ष मूल्यवृद्धि नियन्त्रण बाहिर जान लागेको एक तथ्यांकले देखाएको छ।

चालू आर्थिक वर्षको मूल्यवृद्धि सरकारले राखेको लक्ष्य भन्दा बढी भएको छ। सरकारले चालू आर्थिक वर्षभित्र मूल्यवृद्धि ६ प्रतिशतभित्र राख्ने लक्ष्य लिएको थियो।

तर आइतबार नेपाल राष्ट्र बैंकले जारी गरेको नेपालको आर्थिक अवस्थाको तथ्यांक बमोजिम चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मूल्यवृद्धि ६.५५ प्रतिशत रहेको छ।

गत वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि ३.७१ प्रतिशत मात्र रहेको थियो। यसअवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ९.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.१० प्रतिशत रहेको छ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो पाँच व्यापार घाटा ६.३ प्रतिशतले घटेर ५ खर्ब ३३ अर्ब ६४ करोड रहेको छ। गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो।

यसअवधिमा निर्यात २७ प्रतिशतले वृद्धि भएर.४७ अर्ब ६२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.७ प्रतिशतले वृद्धि भएको थियो।

गन्तव्यका आधारमा भारततर्फ ४८.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले कमी आएको छ।

त्यस्तै यस अवधिमा आयात ४.२ प्रतिशतले घटेर ५ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४.२ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत र २ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १५.६ प्रतिशतले बढेको छ।

रेमिट्यान्स घट्यो

त्यसैगरी चालु आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्स ०.१ प्रतिशतले मात्र बढेर ३ खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले बढेको थियो।

शोधनान्तर स्थिति २३ अर्ब

समीक्षा अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोड रुपैयाँले घाटामा रहेको थियो।

प्रकाशित: Jan 19, 2020| 18:34 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्