बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले सन् २०२० का लागि खेलाडीसँग गरेको सम्झौताको सूचीमा पूर्व कप्तान महेन्द्रसिंह धोनी कुुनै पनि श्रेणीमा परेका छैनन् ।
बीसीसीआईले ए (प्लस), ए, बी र सी श्रेणीमा खेलाडीहरुसँग वार्षिक करार गर्छ। बीसीसीआईले ए (प्लस) लाई भारु ७ करोड, ए लाई ५, बी लाई ३ र सी लाई १ करोड भारु दिन्छ।
यसपटक बीसीसीआईले यस्तो करार २७ जना खेलाडीसँग गरेको छ।
सम्झौता र सन्यासको सम्बन्ध छैन
अहिले धोनीका प्रशंसकहरुलाई उनी सन् २०२० को टी–२० विश्व कप खेल्न पाउलान कि नपाउलान भन्ने संशय छ। अहिलेसम्म के भन्न सकिन्छ भने सन् २०१० मा धोनीले केही निश्चित म्याचमात्रै खेल्नेछन् । तर, धोनीले कुनै पनि म्याच खेल्न पाउने छैनन् भन्ने होइन।
किनभने भारतीय राष्ट्रिय टोलीबाट खेल्नका लागि बीसीसीआईसँग वार्षिक सम्झौता हुनु जरुरी छैन। यस्तो सम्झौता नभएका खेलाडी पनि छनोटका लागि उपलब्ध भएमा उनीहरु राष्ट्रिय टोलीमा पर्न सक्छन्।
बीसीसीआईले धेरैभन्दा धेरै खेलमा सहभागी हुने खेलाडीहरुका लागि मात्र यस्तो सम्झौता गर्छ। उसो त धोनी आफैं पछिल्लो विश्वकपको सेमी फाइनलपछि छनोटका लागि उपलब्ध भएका छैनन्। त्यसैले उनी सम्झौतामा नपर्नु तर्कसंगत देखिन्छ।
अहिले अष्ट्रेलिया विरुद्ध जारी वानडे सिरिजमा धोनी छैनन् भने यसपछि न्यूजिल्याण्डामा हुने खेलमा पनि उनी सहभागी हुने छैनन्।
केही समयअघि सुनील गावस्करले यती लामो समयसम्म कुनै खेलाडी चयनका लागि उपलब्ध नहुनु अचम्मको कुरा भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
धोनीसँगको छलफल
धोनी जस्ता खेलाडीका लागि आर्थिक रुपमा बीसीसीआईले दिने रकमले कुनै अर्थ राख्दैन। बोर्डले सम्झौता सूचीलाई अन्तिम रुप दिनुअघि पनि धोनीसँग कुरा गरेको र दुवैपक्षको सहमतिमा अन्तिम सूची जारी भएको क्रिकेटका जानकारहरु बताउँछन्।
गत वर्ष पनि धोनी ए (प्लस) श्रेणीमा परेका थिएनन् । सञ्चारमाध्यमहरुका अनुसार धोनीले नै टेस्ट, वनडे र टी–२० तीनवटै खेलमा सहभागी हुने खेलाडीलाई मात्रै ए (प्लस) मा राख्न सुझाव दिएका थिए।
टेस्ट खेल्न छोडिसकेका धोनी ए (प्लस) मा नपरेका हुन्।
यस वर्ष पनि ए (प्लस) श्रेणीमा विराट कोहली, रोहित शर्मा र जसप्रित बुमराह मात्रै परेका छन्।
यद्यपि, धोनीले यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) भने खेल्ने छन् । एकपटक फेरि उनले चेन्नई सुपरकिंग्सको कप्तानी पनि सम्हाल्ने छन्।
केही दिन अघिसम्म त धोनीले २०२१ मा हुने आईपीएलका लागि आफूलाई ‘प्लेअर्स अक्सन’ मा राख्ने बताएको खबर प्रकाशित भएका थिए ।
यसको अर्थ धोनी सन् २०२१ सम्म मैदानमा देखिने छन् ।
बीबीसी हिन्दीको सहयोगमा