काठमाडौं - अष्ट्रेलियन लिग बिग बासमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पर्थ स्कोर्चरविरुद्ध दुई विकेट लिएका छन्। मेलबन स्टार्सबाट खेलिरहेका सन्दीपले खेलको १३ औं ओभरमा दुई विकेट लिएका हुन्। उत्कृष्ट इकोनोमीसहित बलिङ गरेका सन्दीपले १३ औं ओभरको तेस्रो र चौथो बलमा क्रमश: क्रिश जोर्डन र जे रिचर्डसनको विकेट लिएका हुन्। तीन ओभर बलिङ गरेका सन्दीपले एक मेडन राख्दै सात रन खर्चेर दुई विकेट लिएका हुन्। सन्दीपले हालसम्म प्रतियोगितामा खेलेका ९ खेलमा ११ विकेट लिइसकेका छन्।
यसैबीच सन्दीपको टोली मेलवर्नले बुधबारको खेलमा पर्थलाई ८ विकेटले पराजित गरेको छ। जितसँगै मेलवर्नले प्रतियोगितामा खेलेका १० खेलमा ९ मा जित हात पार्दै १८ अंक जोडेको छ। मेलवर्न अंक तालिकाको शिर्ष स्थानमा रहेको छ।
पर्थले दिएको ८७ रनको झिनो लक्ष्य पछ्याएको मेलवर्नले उक्त लक्ष्य १२ ओभरमा दुई विकेट गुमाउँदै पुरा गर्यो। मेलवर्नका स्टोनिसले अविजित रहँदै सर्वाधिक ३९ रन जोडे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पर्थ १३ दशमलव ५ ओभरमा ८६ रनमा समेटिएको थियो। पर्थका जोश इङ्लिशले सर्वाधिक ३७ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। पर्थलाई सस्तैमा समेट्न ज्याक्सन कोलेमनले तीन तथा सन्दीपले दुई विकेट लिए।