काठमाडौं - अमेरिकामा मुख्यालय रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाले दोस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना गर्दैछ।
प्रतियोगिता माघ २ देखि ४ गतेसम्म सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको तेक्वान्दो एकेडेमी हलमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सन्जिव फुयालले जानकारी गराए।
ग्योरोगी र पुम्सेमा गरी जम्मा ११० स्वर्ण, ११० रजत र २२० कांस्यका लागि प्रतिस्पर्धा हुने छ। प्रतियोगितामा १ हजार २ सय खेलाडीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
टिममा पहिलो हुनेले १ लाख, दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट पुरुष/महिला खेलाडीलाई समान १०/१० हजार नगद पुरस्कार प्रदान गरिने छ। उत्कृष्ट दुई निर्णायकलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ। त्यस्तै सातै प्रदेशबाट सहभागी हुने उत्कृष्ट र विपन्न डोजाङहरुलाई १ लाख ५० हजार बराबरको खेल सामाग्री प्रदान गरिने छ।
एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोका संस्थापक अध्यक्ष कुमार कार्कीले छरिएर रहेका खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको बताए।