काठमाडौं- माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले आफू सरकारमा भएका बेला एमसीसी पास गर्नका लागि मरिमेटर लाग्ने तर प्रतिपक्षमा पुग्दा विरोध गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकी छन्।
शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले ओलीका साथै एमाले उपाध्यक्ष भीम रावलको समेत चर्को आलोचना गरेकी छन्।
'महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्ने गरी व्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढनु परेको हो। खड्ग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुर्क्याएर लागि परेका थिए। आज एमसीसीको विरोध गर्दैछन्,' उनले भनिन्, 'सकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद। कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन्। मलाई सम्झना छ– २०५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो। भीम रावलको पोजिसन के थियो? कमरेड खड्गप्रसाद ओलीको पोजिसन के थियो? महाकाली सन्धिका बेला।’
नेतृ झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सदभावना पार्टीको जस्तै हुने टिप्पणी समेत गरिन्। उनले कम्युनिस्ट आन्दोलनलाई सत्यानाश बनाउने बाटोमा अघि बढेका ओलीले मुलुकलाई नै विघटनको दिशामा लैजाने प्रयास गरेपछि आफूहरुले सत्ताबाट हटाएको पनि दोहोर्याएकी थिइन्।