काठमाडौं– भारततर्फ तस्करी हुँदै गरेको बुद्धचित्त माला र रुद्राक्षसहित मकवानपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौंबाट भारततर्फ जाँदै गरेको बीआर ०१ पीएच ४९४० नम्बरको भारतीय कार चेकजाँचका क्रममा बुद्धचित्त १ हजार ७ सय ७० थान र रुद्राक्षको माला १ सय ४४ थान फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कारका चालक भारत बिहारका ३२ वर्षीय मुन्ना यादव, कारमा सवार काभ्रे साविक तिमाल गाविस–२ का ४२ वर्षीय जगत लामा तामाङ र तिमाल–६ का ४२ वर्षीय सूर्यमान तामाङ रहेको प्रहरीले जनाएको छ।
मनहरी गाँउपालिका–७ मनहरी बजारस्थित पूर्व–पश्चिम सडक खण्डबाट ईलाका प्रहरी कार्यालय मनहरीको टोलीले चेकजाँचका क्रममा कारभित्र बोरा र झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त वस्तु फेला परेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।
पक्राउ परेको कार, बुद्धचित्त माला, रुद्राक्ष र मानिसलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय पठाउने तयारी भएको प्रहरीले जनाएको छ।
यस्तै मकवानपुर प्रहरीले करिव ३५ किलोग्राम गाँजासहित एक मोटरसाइकल बरामद गरेको छ। हेटौडा–१९ नेवारपानीमा चेकजाँचका क्रममा प्रहरीलाई देखेर भागेको ना६१प २४९ नम्बरको मोटरसाइकलमा राखेको उक्त गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
चालक मोटरसाइकल छोडेर फरार रहेको र खेजीकार्य भैरहेको प्रहरीले जनाएको छ।