मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अष्ट्रेलियामा पनि मनाइयो अन्तर्राष्ट्रिय नेपाली दिवस

अष्ट्रेलियामा पनि मनाइयो अन्तर्राष्ट्रिय नेपाली दिवस

आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले पृथ्वी जयन्तीलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवसका रूपमा मनाएका छन्।
 |  सोमबार, पुस २८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०७६

सिड्नी– आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले पृथ्वी जयन्तीलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवसका रूपमा मनाएका छन्।

नेपालीको बाक्लो बसोबास रहेको सिड्नीस्थित ओबन पार्कमा आयोजित कार्यक्रममा सहभागीहरूले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर बलियो सुदृढ देशका साथै विश्व मानचित्रमा नेपालीलाई स्थापित गरेको बताए। नेपालमा बढ्दै गएको ध्रुवीकरणप्रति चिन्ता व्यक्त गर्दै सहभागीहरूले जात, धर्म, राजनीतिक आस्था भन्दा माथि उठेर नेपाली पहिचानमा गर्व गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानकै कारण नेपाली पहिचान स्थापित भएको बताए। पोखरा समाजका सचिव समित केसीले पृथ्वीनारायण शाहलाई अहिलेको समय र राजनीतिक परिस्थितिको आधारमा हेर्न नहुने बताए।

अग्रज समाजसेवी कञ्चन पोखरेलले आफ्ना बच्चाहरूले हामी नेपाली कसरी बनियो भनेर सोध्ने गरेको र बच्चाहरूको यसखालको सोधाइको जवाफ दिन पनि अभिभावकहरूले नेपालको इतिहास र नेपाली राष्ट्रिय धरोहरका बारेमा जानकार रहनुपर्ने बताए।

लेखा, वित्त तथा बैंकिङ व्यवसायी डिला खरेलले नेपाली राष्ट्रियता र इतिहासलाई विश्वभर छरिएका नेपालीहरूले गर्वका रूपमा लिएर दोश्रो पुस्तामा समेत हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।

अन्तर्राष्ट्रिय नेपाली दिवस आयोजक समितिका संयोजक मदनमणि अधिकारीले अन्तर्राष्ट्रिय राजनीति, रणनीति र नेपालको अवस्थितिका कारण वर्तमानमा नयाँ न्यारेटिभ स्थापनाका लागि भएका चलखेलले हाम्रो आफ्नै इतिहास र पहिचानमा शंका र प्रश्न उठ्ने, नेपाली जातिको इतिहास र एकतालाई नै भताभुंग पार्ने अवस्था आइसकेकोमा चिन्ता व्यक्त गरे ।

नेपालीपेजडटकमले आयोजना गरेको कार्यक्रममा अष्ट्रेलियामा क्रियाशील बहुसंख्यक नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेर सुरू भएको कार्यक्रममा एनआरएनए अष्ट्रेलिया महिला संयोजक सन्ध्या शाह, झापाली समाजका अध्यक्ष उमेश पोखरेल, लुमिया नेपाली समाजका अध्यक्ष प्रकाश हुमागाईं, समाजसेवीहरू दिनेश जोशी, प्रेम सापकोटा, बुद्धि डल्लाकोटी, पूर्णनाथ घिमिरे, डिल्ली ढकाल, दिनेश पोखरेल, विनर्स सर्कलका रोशन खतिवडा, दिपक पौडेल, सुरज ओलीलगायतले पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै विश्वभर फैलिएका नेपालीहरूले अन्तर्राष्ट्रिय नेपाली दिवसमार्फत् नेपाली हुनुको आत्मबोध गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: Jan 13, 2020| 09:32 सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।