सुर्खेत- ‘म त बाबाको सपना पछ्याउँदै राजनीतिमा लागेको हुँ’ दैलेख, दुल्लु-३ की १९ वर्षीया किशोरी स्वस्तिका महतले नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएपछि भनिन्, ‘बाबाका जस्तै मेरा पनि सपना छन्।’
जिल्ला पार्टी सभापति समेत रहेका उनका बुबा .भुपेन्द्रजंग महतको दुई वर्षअघि निधन भएपछि स्वस्तिकाले दलभित्रका गतिविधिहरुमा आफूलाई सक्रिय बनाउन थालेकी रहेछिन्। विद्यार्थी राजनीति मात्र होइन गाउँ-ठाउँमा आयोजित कार्यक्रम र अरु सामाजिक कर्महरु पनि उनको चासो र सक्रियता बढेपछि शुभेच्छुक तथा आफन्तजनहरुले उनलाई राजनीतिमै लाग्न सल्लाह र उत्प्रेरणा दिएका रहेछन्। ‘जिल्लाका सिनियर नेताहरु पनि राजनीतिमा युवाहरुको खाँचो छ भन्नुहुन्थ्यो’, उनले भनिन्, ‘मेरो मनमा पनि राजनीतिप्रति आकर्षण पैदा भयो। राजनीतिबाटै जनताको सेवा गर्न सकिन्छ भन्ने लाग्यो।’
देशको सबैभन्दा पुरानो राजनीतिक दल कांग्रेसभित्र पुस्ताबारे बाक्लै बहस हुने गर्छ। युवाहरुलाई स्थान नदिइएको गुनासो सुनिन्छ। वडादेखि केन्द्रसम्म पनि बुढो पुस्ताले पार्टी नेतृत्व ओगटेको भनिरहेका बेला दैलेख दुल्लुको वडा नम्बर ३ मा स्वस्तिकाको सर्वसम्मत चयन सबैका लागि रोचक परिघटना बनेको छ। सामाजिक सञ्जालमा उनलाई बधाइ दिनेहरु त त्यत्तिकै छन् नै, स्थानीयदेखि केन्द्रसम्मका मिडियाहरुले समेत उनलाई स्थान दिइरहेका छन्।
‘धैरैले बधाइ दिइरहनुभएको छ, हौसला पनि दिइरहनुभएको छ’, नेपाल समय प्रतिनिधिसँग संक्षिप्त कुराकानी गर्दै उनले सुनाईन्, ‘मलाई खुशी पनि लागेको छ।’
कांग्रेसको महाधिवेशनअन्तर्गत शुक्रबारदेखि ५६ जिल्लामा वडा तहको अधिवेशन भइरहेको छ।