काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउनुपर्ने बताएका छन्।
प्रजातान्त्रिक विचार समाजले बुझाएको ज्ञापनपत्र बुझ्दै आइतबार नेता पौडेलले लोकतन्त्रको रक्षाका लागि कांग्रेस बलियो हुनुपर्नेमा जोड दिए।
‘सुशासनलाई अगाडि बढाउन र संविधानको रक्षाका लागि कांग्रेस बलियो हुनुपर्छ’, उनले भने।
वरिष्ठ नेता पौडेलले सरकारसँग असन्तुष्ट भएका जनतालाई कांग्रेसमा आकर्षण गर्नुपर्ने बताए।
सरकारलाई भ्रष्टाचारमुक्त र कांग्रेसलाई विकृतिमुक्त बनाउनुपर्ने उनको भनाइ थियो।
उनले पार्टीको १४औँ महाधिवेशन विधिसम्मत रुपमा तोकिएको समयमा हुनुपर्ने उल्लेख गरे।
पार्टीलाई सुधार गर्नका लागि आफू विधान कार्यान्वयनका पक्षमा उभिएको उनको भनाइ थियो। पार्टीका नेता प्रकाशमान सिंहले विधिविधानअनुसार चल्न नसक्दा कांग्रेस दिनानुदिन कमजोर बन्दै गएको बताए।
‘सिद्धान्त, आदर्श र संविधान निर्माणको नेतृत्व गरेको पार्टीको वर्तमान नेतृत्वबाट पार्टी अगाडि बढ्न सक्दैन।’, उनले भने।
पार्टीका केन्द्रीय सदस्य रामशरण महतले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य बोकेको सरकारले जनतालाई सुखी बनाउन नसकेको आरोप लगाए।
नेता महतले विधान कार्यान्वयनमा पार्टी नेतृत्व नलागेको बताउँदै पार्टीलाई सुधारका लागि गतिलो नेतृत्वको खाँचो औँल्याए। पार्टीको चौधौँ महाधिवेशन निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो। रासस