मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दिलिप हत्या प्रकरण : ढल्केबरका इन्स्पेक्‍टरलाई जिल्ला झिकाइयो

दिलिप हत्या प्रकरण : ढल्केबरका इन्स्पेक्‍टरलाई जिल्ला झिकाइयो

गिटी बालुवा अवैध उत्खननको विरोध गर्ने धनुषाका दिलिप अर्थात् ओमप्रकाश महतो हत्याको घटनामा ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषा झिकाइएको छ ।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

जनकपुरधाम– गिटी बालुवा अवैध उत्खननको विरोध गर्ने धनुषाका दिलिप अर्थात् ओमप्रकाश महतो हत्याको घटनामा ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषा झिकाइएको छ । मिथिला नगरपालिका–५ श्रीपुर घर भएका २५ वर्षीय दिलिपको शुक्रबार बिहान हत्या भएको थियो ।

प्रहरी निरीक्षक यादवले दिलिप हत्याको घटनामा गम्भिरता नदेखाएको भन्दै ईलाका प्रहरी कार्यालयबाट जिल्ला झिकाइएको हो । घटना हुँदा यादव ईलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज थिए ।

प्रहरी निरीक्षक यादवलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा झिकाइएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले जानकारी दिएका छन् । यादवलाई जिल्ला झिकाइए पनि कारबाही भन्न नमिल्ने उनले बताए । आन्तरिक व्यवस्थापन गर्न यादवलाई जिल्ला झिकाइएको कार्कीको भनाइ छ ।

शुक्रबार बिहान दिलिपको शव भेटिएको स्थानमा प्रहरीले मुचुल्कासमेत तयार नपारेको पीडित परिवारले आरोप लगाएको थियो । प्रहरीले घटनास्थलको मुचुल्का नै तयार नपारी शव सोझै गाडीमा राखेर अस्पताल पुर्याएको दिलिपका परिवारका सदस्यहरुले बताएका थिए ।

शव धनुषाको लालगढस्थित मोडेल अस्पतालमा लगिने प्रहरीले भने पनि प्रादेशिक अस्पताल जनकपुर ल्याउनुका साथै गाडीमा आफन्तलाई समेत बस्न नदिएपछि दिलिपका परिवारले प्रहरीमाथि शंका व्यक्त गरेका थिए ।

यसरी भएको थियो दिलिपको हत्या

भारतको मध्यप्रदेशस्थित भोपालमा इन्जिनियरिङ पढ्दै गरेका दिलिप खोलामा हुने अवैध उत्खननको विरोध गर्ने गरेका थिए । दश दिनअघिमात्र विदामा घर आएका उनले यसअघिझैं यसपटक पनि अवैध उत्खननको विरोध गरे । र, यसै कारण दिलिप अवैध उत्खनन गर्नेहरुको तारो बनेका थिए ।

खोलामा अवैध उत्खनन भइरहेको थाहा पाएपछि दिलिप शुक्रबार बिहान त्यसतर्फ गएका थिए । तर खोल उत्खननमा संलग्न व्यक्तिहरुले उनको हत्या गरिदिए । उत्खननको विरोध गरिरहँदा त्यहाँ रहेको केही व्यक्तिहरुले दिलिपको कोखमा फलामको लिभर घोचेर घाइते बनाएपछि खोलामा सुताई टिपरले किचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दिलिपलाई घाइते बनाई ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताएका छन् ।

दिलिपको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले क्रसर सञ्चालकसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा क्रसर सञ्चालक विपिनकुमार महतो, टिपर चालक मुनिन्द्र महतो, लोडर चालक जितेन्द्रकुमार महतो र किसान रोशनकुमार यादव रहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

प्रारम्भिक अनुसन्धानको क्रममा चार जनालाई पक्राउ गरिएको बताउँदै बस्नेतले घटनामा अन्यको संलग्नता पाइए उनीहरु पनि चाँडै नियन्त्रणमा आउने उल्लेख गरेका छन् ।

शुक्रबार बिहान हत्या भएको दिलिपको शवको पोस्टमार्टम शनिबारमात्रै भएको थियो । प्रादेशिक अस्पताल जनकपुरमा चारजना चिकित्सकले करिब तीन घण्टा लगाएर शवको पोस्टमार्टम गरेका थिए ।

घटनास्थल नजिकै शनिबार राति दिलिपको अन्त्येष्टि गरिएको छ । औरही खोलामा घटनास्थलभन्दा करिब सय मिटर पर उनको अन्त्येष्टि गरिएको भाइ जितेन्द्र यादवले बताए । दिलिपका ७५ वर्षीय हजुरबुबा रामपृत महतोले दागबत्ती दिएका थिए ।

खाेला दाेहनकाे विरोध गरेपछि टिपरले किचेर युवकको हत्या

ओमप्रकाशको मृत्युपछि गाउँ नै शोकमा

 

प्रकाशित: Jan 12, 2020| 15:47 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।