जनकपुरधाम– अवैध उत्खननको विरोध गर्ने ओमप्रकाश महतोको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २५ वर्षीय दिलिप भनिने ओमप्रकाशको शुक्रबार बिहान हत्या भएको थियो ।
हत्यामा संलग्न व्यक्तिहरुलाई कारबाहीको माग गर्दै मिथिला नगरपालिकाको ढल्केबरमा प्रदर्शन भएको हो । सामुदायिक वन उपभोक्ता महासं प्रदेश २ ले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।
ढल्केबर चोकबाट निकालिएको र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै स्थानीय सहिद चोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै वक्ताहरुले दिलिपलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने, हत्यारालाई जन्मकैद हुनुपर्नेलगायतका माग गरेका छन् ।
यसैगरी दोषीलाई कारबाहीको माग गर्दै जनकपुरका युवाहरुले समेत प्रदर्शन गरेका छन् । जनकपुरको रामानन्द चोकमा जम्मा भएका युवाहरुले दोषीलाई मृत्युदण्ड दिन माग गर्दै प्रदर्शन गरेका छन् ।