काठमाडौ– नेपाल राष्ट्र बैंकको गभर्नर बन्न आकांक्षीहरुले शक्ति केन्द्र धाउन थालेका छन्। हालका गभर्नर डा. चीरञ्जीवी नेपालको पाँच वर्षे कार्यकाल आगामी चैत पहिलो साता सकिँदैछ। त्यसको एक एक महिनाअघि नै उनी अनिवार्य बिदामा बस्नुपर्नेछ। डा. नेपाल सुशील कोइराला प्रधानमन्त्री भएका बेला २०७२ सालमा गभर्नर भएका हुन्। त्यसअघि उनले कोइरालाको आर्थिक सल्लाहकारको रुपमा काम गरेका थिए।
नेपाल राष्ट्र बैंकको गभर्नरलाई ‘ग्लामरस’ पदको रुपमा लिइन्छ। यसअघि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेको व्यक्ति पनि गभर्नर बनेको उदाहरण छ।
हालका अर्थमन्त्री डा. युवराज खतिवडा पनि राष्ट्र बैंकको जागिरे, त्यहाँको गभर्नर हुँदै अर्थमन्त्री बनेका हुन्। राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर उनी गभर्नर बनेका थिए।
अहिले कम्युनिष्ट पार्टीको सरकार भएकाले पार्टी निकटकै व्यक्ति गभर्नर बन्ने निश्चित छ। राष्ट्र बैंकको गभर्नरले सरकारको सल्लाहकारको रुपमा समेत काम गर्ने हुँदा यसका लागि ठूलै लबिङ हुने गरेको छ।
आगामी गभर्नरका लागि खासगरी चारजनाको नाम बढी चर्चामा छ।
चिन्तामणि शिवाकोटी
शिवाकोटी अहिले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर छन्। गभर्नरको दौडमा रहेका अर्का आकांक्षी तथा डेपुटी गभर्नर शिवराज श्रेष्ठ निम्बनमा परेपछि शिवाकोटीको पल्ला भारी भएको छ।
सरकारले गभर्नर गभर्नर छनोट गर्न बनाउने समितिले शिवाकोटीको नाम पनि सिफारिस गर्नु पर्नेछ। किनकी सिफारिस समितिले सम्भावित गभर्नरको नाम सिफारिस गर्दा एकजना डेपुटी गभर्नरको नाम पनि पर्नुपर्ने प्रावधान छ।
शिवाकोटी बामपन्थी दल निकट मानिन्छन्। उनी एमालेका पुराना कार्यकर्ता पनि हुन्। प्रधानमन्त्री केपी ओलीसँग उनको राम्रो सम्बन्ध रहेको बताइन्छ।
उनी निकट कर्मचारीका अनुसरा शिवाकोटीले अहिलेसम्म पार्टीको काममा नाइँनास्ती गरेका छैनन्। त्यसकारण ओली उनको पक्षमा सकारात्मक छन्।
शिवाकोटीले त्रिभुवन विश्वविद्यालयबाट बिजनेस प्रशासनमा स्नात्तकोतर गरेका छन् भने अमेरिकाबाट फाइनान्सियल म्यानेजमेन्टमा एमबीए गरेका छन्। राष्ट्र बैंकका कर्मचारीले उनलाई आगामी गभर्नरको रुपमा हेरिसकेका छन्।
राष्ट्र बैंकको वरीयतामा १३ औं तहमा रहेका शिवाकोटीलाई सुशील कोइराला नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारले डेपुटी गभर्नर बनाएको थियो।
मीनबहादुर श्रेष्ठ
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग सम्हालेर कार्यकारी निर्देशकबाट अवकास पाएका डा. मीनबहादुर श्रेष्ठ पनि नयाँ गभर्नरका लागि बलिया दाबेदार हुन्। राष्ट्र बैंकबाट अवकास पाएसँगै उनी तत्कालीन माओवादी केन्द्रको कोटामा केही महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भएका थिए।
डा. श्रेष्ठ नेकपा अध्यक्ष प्रचण्डसँग निकट मानिन्छन्। आर्थिक विषयहरुमा श्रेष्ठले नै प्रचण्डलाई सल्लाह सुझाव दिने गरेको बताइन्छ। उनलाई गभर्नर बनाउन प्रचण्डले निकै जोडबल गर्ने श्रेष्ठ निकटहरु बताउँछन्।
त्यसो त अर्थमन्त्री पूर्व एमालेबाट भएका कारण गभर्नर पूर्व माओवादीले पाउनुपर्ने तर्क पनि कतिपयको छ। अर्थतन्त्रको विषयमा राम्रो दख्खल राख्ने श्रेष्ठ व्यक्तित्व र आचरणका हिसाबले गम्भीर र भद्र मानिन्छन्। उनले लामो समय राष्ट्र बैंकको अनुसन्धान विभागमा काम गरेका थिए। विषेशगरी उनले नेपालको अनौपचारिक अर्थतन्त्रको बारेमा अनुसन्धान गरेका छन्। केही वर्षदेखि उनी कुनै पनि संघसंस्थामा आवद्ध छैनन्।
एमाले र माओवादी एकीकरणपछि बनेको सरकारका धेरै योजना बनाउने काममा श्रेष्ठ सक्रिय छन्। उनको पक्षमा अर्थमन्त्री डा. खतिवडा पनि सकारात्मक रहेको बताइन्छ।
श्रेष्ठले बेलायतबाट बिजनेस प्रशासनमा एमबिए र नेपालको वित्तीय उदारीकरण विषयमा अष्ट्रेलियाबाट पीएचडी गरेका छन्।
राजन खनाल
अर्थ मन्त्रालयका सचिव राजन खनाल पनि गभर्नरका बलिया दाबेदार हुन्। अर्थमन्त्री खतिवडाका सारथी खनालले कतिपय व्यवसायीसँगको अनौपचारिक कुराकानीमा आफू अबको गभर्नर भएको दाबी प्रस्तुत गर्ने गरेको स्रोत बताउँछ।
त्यसो त अमेरिकाका लागि नेपाली राजदूतको रुपमा पनि उनको चर्चा छ। डा. खतिवडाले सरकारमा निरन्तरता पाए राजदूतमा खनालको सम्भावना बढ्ने बताइन्छ। यही माघमा सचिवबाट अवकास पाउन लागेकाले पाए राजदूत नभए गभर्नरमा उनको आँखा छ।
महाप्रसाद अधिकारी
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी अर्थमन्त्री डा. खतिवडाका निकट मानिन्छन्। केपी ओली नेतृत्वको सरकारले अधिकारीलाई ०७३ असारमा बोर्डको सीईओ नियुक्त गरेको थियो। अधिकारी राष्ट्र बैंकको डेपुटी गभर्नर हुँदा हालका अर्थमन्त्री डा. खतिवडा गभर्नर थिए। गभर्नरको रुपमा खतिवडालाई सफल बनाउन अधिकारीको मुख्य भूमिका रहेको चर्चा राष्ट्र बैंक कर्मचारी वृत्तमा चल्ने गर्छ।
अधिकारीले इन्डियन इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्सीबाट चार्टर्ड एकाउन्टेन्सी अध्ययन गरेका हुन्। अधिकारी पूर्व एमाले निकट हुन्। लगानी बोर्डमा रहेर अधिकारीले प्रधानमन्त्री केपी ओलीसँग प्रत्यक्ष काम गर्न पाएका छन्, किनकी बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ।
अर्थमन्त्री र प्रधानमन्त्री दुवैका निकट भएकाले गभर्नरमा उनको दाबेदारीलाई पनि बलियो मानिएको छ।
गभर्नरको लागि अर्थशास्त्री डा. डिल्लीराज खनाल, राष्ट्र बैंकका सञ्चालक सुवोधलाल कर्णलगायत पनि दौडमा छन्।