काठमाडौं– सभामुख निर्वाचनको कार्यतालिका बनाउन आज (आइतबार) बोलाइएको प्रतिनिधिसभा बैठक पनि अन्योलमा परेको छ।
सभामुखको उम्मेदवार टुंगो नलागेको र उपसभामुखको राजीनामा नआएकाले दिउँसो १ बजेका लागि बोलाइएको बैठक अन्योल देखिएको हो।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले उपसभामुखको राजीनामा नआउँदा बैठक बस्नेबारे ठेगान नभएको बताए।
अन्योलका कारण बैठकको सम्भावित कार्यसूची नै बन्न सकेको छैन।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लामो समयदेखि सभामुखको उम्मेदवारको टुंगो लगाउन सकेको छैन।
सभामुखबारे अध्यक्षद्वयले अडान नछाडेपछि सभामुख चयनका लागि पटक–पटक बस्दै आएको सचिवालय बैठक निश्कर्षविहीन भएको छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्बाङलाई सभामुख बनाउने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थायी समिति सदस्य अग्नी सापकोटालाई सभामुख बनाउने अडानमा छन्।
गत शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरे पनि सभामुखको उम्मेदवारबारे निर्णय गर्न सकेन।
सभामुखकाे उम्मेदवार टुंगाे नलाग्दा यसअघि गत पुस १५ गते बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित भएकाे थियो।