जुम्ला– जिल्लामा छाउपडी प्रथाविरुद्ध हस्ताक्षर संकलन अभियान सुरु भएको छ।
छाउपडी प्रथा उन्मुलन अभियानअन्तर्गत जिल्लाभरका प्रहरी चौकीमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको हो।
रारालिही प्रहरी चौकीका इन्चार्ज कृष्णबहादुर खड्का चौकीमा आउने सेवाग्राहीले छाउपडीविरुद्ध हस्ताक्षर गर्ने गरेको बताउँछन्। उनका अनुसार सेवाग्राहीलाई छाउपडी प्रथाका कारण महिलाले भोग्नुपरेको समस्याबारे सहजीकरण गराइन्छ। सहजीकरण गरेपछि सेवाग्राही स्वतःस्फूर्तरूपमा ‘छाउपडी नमान्ने र मान्न बाध्य पनि नपार्ने’ भन्दै हस्ताक्षर गर्ने गरेको उनले बताए।
जिल्लाका सिँजा, हिमा, कनकासुन्दरी, तिला, तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकाका प्रहरी चौकीले हस्ताक्षर अभियान थालेका छन्।
इन्चार्ज खड्काले महिनावारी भएका महिलालाई गोठमा बसालेको पाइएका उजुरी दर्ता गरेर कारवाही अघि बढाउने तयारी भएको बताए । त्यसका लागि गाउँमा सादा पोशाकका प्रहरी परिचालन भइरहेको उनको भनाइ छ।
जिल्लाका सरकारी कार्यालयमा पनि छाउपडीविरुद्ध हस्ताक्षर संकलन अभियान सुरु भइरहेको छ।
सेवाग्राहीलाई छाउपडी प्रथाविरुद्ध सहजीकरण गराएर हस्ताक्षर संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
छाउपडी प्रथा उन्मुलनको अभियानमा सरकारी निकाय देखिएकाले जनचेतनामूलक काम गर्न सहज भएको सामाजिक अभियन्ता बताउँछन्।
कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा महिला महिनावारी हुँदा घरदेखि अलग्गै (छाउगोठ)मा बस्ने चलन छाउपडी प्रथा हाे।
छाउगोठमा विभिन्न कारणले महिलाले ज्यान गुमाउन थालेपछि सरकारले छाउगोठ उन्मुलन अभियान थालेको छ।