काठमाडौं- आइतबारका राष्ट्रिय दैनिक अखबारहरु धनुषामा टिपरले किचेर भएको हत्या र सभामुख चयन प्रक्रिया अझै अन्योलमै रहेको विषयलाई मुख्य समाचार बनाएका छन् ।
जनकपुरका मेयरले नै रामजानकी मन्दिरको जग्गा मिचाएको विषयलाई मुख्य समाचार बनाएको आजको अन्नपूर्ण पोस्ट्ले उपसभामुखले पदबाट राजीनामा दिन्न भनेर दिएको प्रतिक्रियालाई पनि प्राथमिकताका साथ छापेको छ ।
यस्तै अन्नपूर्णले धनुषामा टिपरले किचेर युवाको हत्या गरेको विषयलाई पनि महत्वका साथ छापेको छ। धुनषाको मिथिला नगरपालिका– ५ श्रीपुरका दिलीप महतोलाई क्रसर डनले टिपर चालकलाई सुपारी दिएर मार्न लगाएको रहस्य खुलेको समाचारमा उल्लेख छ ।
अन्नपूर्णले लेखेको छ- चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी स्थानीय विपिन महतोले दिलीपको हत्या गराएको स्रोतले दाबी गरेको छ।
टिपरले किच्नुअघि विपिनले पहिले दिलीपसँग झगडा गर्दै लिभरले कुटेका थिए। कुटाइबाट गम्भीर घाइते दिलीपको हत्या गर्ने योजना खोलामै बनेको थियो।
किचेर हत्या गराउन क्रसरधनी विपिनले टिपर चालक मुनिन्द्रसँग ५० हजारमा डिल गरेका थिए। ‘तँलाई ५० हजार दिन्छु, यसले हाम्रो व्यापारमा धेरै दुःख दिइरहेको छ। यसलाई मार्नै पर्छ, नत्र हाम्रो व्यापार नचल्ने भयो’, विपिनले टिपर चालकसँग हत्या गर्नुअघि गरेको डिलबारे स्रोतलाई उधृत गर्दै अन्नपूर्णले लेखेको छ ।
कुटपिटबाट बेहोस भएका दिलीपलाई खोलामै लिकमा राखेर ना.७ ख ६४१३ नम्बरको लोड टिपर ब्याक गरेर हत्या गरिएको थियो । श्रीपुर गाउँभन्दा पूर्वमा औरही खोलाको पश्चिम किनारमा क्रसरधनी विपिनले क्रसर सञ्चालन गर्दै आएका छन्। राति चोरेर बालुवा/गिट्टी उत्खनन गरिरहेको पाएपछि दिलीप साथी रोशनसँगै खोलामा पुगेका थिए।
आजको कान्तिपुर दैनिकले सत्तारुढ नेकपाले उम्मेदवारको टुंगो लगाउन नसक्दा सभामुख चयन प्रक्रिया अन्योलमा परेको विषयलाई मुख्य समाचार बनाएको छ ।
नेकपाको सचिवालयले शनिबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न निर्देशन दिएको थियो । तर, तुम्बाहाम्फेले राजीनामा नदिने प्रतिक्रिया दिएकी छिन् ।
यस्तै बालुवाटारको सरकारी जग्गा हिनामिना काण्डमा मालपोतबाटै मुद्दा कमजोर बनाउने खेल भएको विषयलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ ।
समाचारमा लेखिएको छ- बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारका नाममा ल्याउने प्रक्रिया अवरुद्ध पार्न सरकारी तहबाटै ‘चलखेल’ भएको भेटिएको छ ।
गैरकानुनी रूपमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको भनी छानबिन चलिरहेका बेला डिल्लीबजार मालपोत कार्यालयबाट मुद्दा कमजोर बनाउने खेल भएको हो ।
डिल्लीबजार मालपोत कार्यालयका प्रमुख गोविन्दप्रसाद अधिकारीले ‘ललिता निवासको जग्गा व्यक्तिकै भएको’ भनी उच्च अदालत पाटनमा लिखित जवाफ दिएको फेला परेको छ । सरकारले नै जग्गा सरकारीकरण गर्न प्रक्रिया सुरु गरेका बेला त्यसको कार्यान्वयन गर्ने निकायका प्रमुखले गैरकानुनी रूपमा जग्गा दर्ता प्रक्रियालाई सघाउ हुने गरी लिखित जवाफ पेस गरेका हुन् ।
आजको नागरिक दैनिकले खोला रित्याउँदै क्रसर माफिया शीर्षकमा मुख्य समाचार छापेको छ।
राजनीतिक दल र प्रशासनको मेलेमतोमा क्रसर व्यवसायीले अबैध रुपमा खोला दोहन गरेको समाचारमा उल्लेख छ । क्रसर व्यवसायीको ज्यादतीविरुद्ध बोल्दा युवाको हत्या गरिएको पनि समाचारमा उल्लेख छ ।