काठमाडौं– अवैध उत्खननमार्फत नदीजन्य वस्तु तस्करीको विरोध गर्दै आएका दिलिप महतो हत्याको अनुसन्धानका लागि क्रसर व्यवसायी विपिन महतोलाई पक्राउ गरिएको छ।
मिल्स एरियास्थित ससुराली घरबाट शनिबार बिहान उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले जानकारी दिए।
दिलिप महतोको हत्याको विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दिलिपका परिवारका अनुसार क्रसर व्यवसायी विपिनले तीन दिन अगाडि दिलिपलाई हत्या गर्ने धम्की दिएको खुलेका छ।
धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा शुक्रबार टिपरले किचेर दिलिपको हत्या गरिएको थियो।
महतो शुक्रबार बिहान ४ बजे उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए। त्यहीँ उनीमाथि ना ७ ख ६४१३ नम्बरको टिपरले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै फरार रहेका चालक मुनिन्द्र महतोलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको थियो। घटनास्थलमै रहेका क्रसर सञ्चालक पनि फरार थिए।