काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण मंगलबारदेखि बद्लिएको मौसम आजबाट क्रमिक सुधार भएको छ ।
केहि स्थानमा वर्षा र हिमपात भएपनि दिउँसोबाट मौसम सफा हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले काठमाडौंसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो बिस्तारै हट्दै जाने मौसमविद् सजिना शाक्य जानकारी दिइन् । तराईका जिल्लाहरुमा यतिखेर बाक्लो हुस्सु र कुहिरो लागेको छ । यो पनि साँझसम्ममा हट्न सक्ने उनले बताइन्।
उनका अनुसार कुहिरो हटे पनि देशको मध्य र पूर्वका आकाशमा भने आंशिकरुपमा बादल लाग्ने र केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । भोलिबाट भने देशका अधिकांश स्थानको मौसम सफा रहने उनले बताइन् ।
महाशाखाकी मौसमविद् शाक्यका अनुसार आजबाट आइतबारसम्म देशभरको मौसम सफा रहने देखिएको छ । शनिबार र आइतबार देशका अधिकांश क्षेत्रमा दिउँसो घाम लाग्ने उनले बताइन् ।
तर, सोमबारबाट भने पुनः नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने देखिएको छ । जसका कारण आगामी सोमबारदेखि पुनः मौसम बद्लि भइ वर्षा र हिमपात हुनसक्ने मौसमविद् शाक्यले बताइन् ।
यसवर्ष हिउँद लागिकन अहिलेसम्म तीन पटक वर्षा र हिमपात भइसकेको छ । सोमबारबाट चौथो चरणको वर्षा र हिमपातको हुनसक्ने मौसमविद्हरुको आंकलन छ । यसको प्रभाव पनि देशका अधिकांश भूमागमा देखिने छ ।
मौसमविद्हरुका अनुसार यसपटक दुई–तीन दिन कायम रहेर छिटो वर्षा सकिने तर फेरि अर्को वर्षा भइहाल्ने खालको वर्षा चक्र चलिरहेको छ ।