काठमाडौं– 'कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग'मा पाँचौं चरणका खेल सम्पन्न भएका छन्।
पाँचौं चरणका खेल सकिँदा त्रिभुवन आर्मी मनाङ मर्स्याङ्दी क्लबलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ। त्रिभुवन आर्मीले पाँचौं चरणको अन्तिम खेलमा सरस्वती क्लबलाई हराएपछि शीर्ष स्थानमा पुग्न सफल भएको हो। त्यसअघि त्रिभुवन आर्मी चौथो स्थानमा थियो।
त्रिभुवन आर्मीको ५ खेलबाट १२ अंक छ। उसले ४ जित हात पार्दा १ मा पराजय भोगेको छ।
चौथो चरणसम्म शीर्ष स्थानमा रहेको मनाङ अंकतालिकाको दोस्रो स्थानमा छ। जारी सिजनमा मनाङले ३ मा जित र २ बराबरी खेलेर ११ अंक बटुलेको छ।
यस्तै, मछिन्द्र क्लब र थ्री स्टार क्लब समान १० अंकसहित तेस्रो र चौथो स्थानमा छन्। मछिन्द्रले ३ खेलमा जित र २ मा बराबरी खेल्दा थ्री स्टारले ३ जित, १ बराबरी र १ मा हार व्यहोरेको छ।
जावलाखेल क्लब अंकतालिकाको पाँचौं स्थानमा छ। जाउलाखेलले २ जित र ३ बराबरी खेल्दै ९ अंक जोडेको छ।
यस्तै, नेपाल पुलिस, संकटा, बिग्रेड ब्वाइज, न्युरोड टिम (एनआरटी), च्यासल र एपीएफ क्रमशः छैटौं, सातौं, आठौं, नवौं र दसौं स्थानमा छन्।
नेपाल पुलिसको ८, संकटाको ७, बिग्रेड ब्वाइजको ६, एनआरटी र च्यासलको समान ५ अंक छ।
यस्तै, एपीएफ ४ अंकसहित एघारौं, हिमालयन शेर्पा ३ अंकसहित बाह्रौं र फ्रेन्डस क्लब २ अंकसहित तेह्रौं स्थानमा छन्। सरस्वती युवा क्लब भने अंकविहीन छ।
प्रतियोगिताअन्तर्गत छैटौं चरणका खेल शनिबार सुरु हुँदैछन्।