सिरहा- प्रहरीले डाँका मुद्दामा अदालतबाट छ वर्ष कैद सजाय पाएर फरारसहित लागुऔषध कारोवारमा संलग्न पाँच जनालाई एकै दिन सिरहा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सिरहाबाट डाँका मुद्दामा फरार ६ वर्ष कैद र रु एक लाख ८० हजार जरिवानाको सजाय पाएर फरार सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी ४० वर्षीय मोहम्मद मुस्तुफा हुसेन मियाँलाई बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले पक्राउ गरेको हो ।
अदालतको गत २०७१ वैशाख ३० गतेको फैसला आदेश लगतै फरार मियाँलाई आफ्नै घर वतनमा लुकीछीपि बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।
यस्तै ठूलो परिमाणमा लागुऔषधसहित बिहीबार नै सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स६प ९८०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित सिरहाको सखुवानान्कर कट्टी गाउँपालिका–५ निवासी २३ वर्षीय मोहमद अजिम र सोही स्थानका २४ वर्षीय मोहमद हस्मत राईनलाई पक्राउ गरेको छ ।
पक्राउ परेका दुवैको साथबाट लागुऔषध नोर्फिन ४७ एम्पुल, प्रोमोथाइजिन ४७ एम्पुल, डाइजेपाम ४७ एम्पुल गरी १४१ एम्पुल लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।
त्यस्तै इलाका प्रहरी कार्यलय माडर सिरहाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स ८ प ४५३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सिरहा नगरपालिका–१७ बाट लागुऔषधसहित सिरहाको विष्णुपुर गाउँपालिका–२ निवासी २७ वर्षीय ब्रहमदेव यादव र मिर्चैया नगरपालिका–७ निवासी २५ वर्षीय सुली महरालाई लागुऔषध डाइलेक्स डिसी सात बोतलसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।