काठमाडौं– नक्कली नोटको कारोबारमा संलग्न एक गिरोहलाई प्रहरीले काठमाडौं र काभ्रेबाट पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) को टोलीले चार लाख १३ हजार नक्कली नोट र नोट तयार गर्न प्रयोग भएको मेसिनसहित चार जनालाई पक्राउ गरेको हो।
सिआइवीको टोलीले काठमाडौं–३ गोंगबुबाट कमल बुढाथोकी भन्ने कोवीराम बुढाथोकीसहित उनको गिरोहका चार जनालाई काठमाडौं तथा काभ्रेको विभिन्न स्थानहरूबाट चार लाख १३ हजार नक्कली नोटसहित पक्राउ गरेको जनाएको छ।
सिआइवीका अनुसार पक्राउ पर्ने बुढाथोकी सल्यान शारदा नगरपालिका–७ का हुन्। उनले नक्कली नोट बजारमा पुर्याउने गरेको र उनको साथबाट दुई लाख ९८ हजार नक्कली नोट बरामद भएको छ।
यस्तै पक्राउ पर्नेमा काभ्रे पाँचखाल–१३ का ३२ वर्षीय बल बहादुर राना मगर छन् । उनी जाली नोट बनाउने मुख्य व्यक्ति रहेको र उनको साथबाट ९० हजार नक्कली नोट, फोटोकपी मेसिन, रंगिन फोटोकपी गरेको पेपर ३५ थान बरामद गरेको सिआइवीले जनाएको छ।
यस्तै जाली नोटको मुख्य डिजाइनर डोटी पूर्वी चौकी गाउँपालिका–३ का २४ वर्षीय आर्यान खड्का पक्राउ परेका छन्। उनको साथबाट २५ हजार नक्कली नोट बरामद गरिएको सिआइवीले जनाएको छ।
अर्का पक्राउ पर्नेमा धनकुटा छत्र जोरपटी गाउँपालिका–३ का ३६ वर्षीय छत्र बहादुर लिम्बु रहेका छन्। उनी पनि नक्कली नोट बजारमा पुर्याउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।
उनीहरुबाट बरामद गरिएका सबै नक्कली नोट एक हजार दरका रहेका छन्। मुलुकी अपराध संहिता, २०७४, परिच्छेद (२२, मुद्रा सम्बन्धी कसूर अन्तर्गत नक्कली नोटको कारोवारमा संलग्न भएको प्रमाणित भएमा ५ बर्ष देखी १० बर्ष सम्म कैद र ५० हजार देखि १ लाख सम्म जरिवाना हुन सक्ने व्यवस्था छ।