काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका नेताहरुले सरकार नागरिकको मुख थुन्न उद्यत रहेको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौंको माइतीघरमा नेविसंघले आयोजना गरेको विरोधसभामा बोल्दै कांग्रेस नेता गगन थापाले सरकार आफ्ना विरोधि तह लगाउन लागिपरेकोे आरोप लगाए। “यसको पछिल्लो उदाहरण सूचना प्रविधि विधेयक हो,” थापाले भने, “सरकारको जयजयकार गर्ने वाहेक अरुलाई तर्साउन खोजिंदैछ, सचेत नागरिक जाग्ने बेला आएको छ।”
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफूलाई विधेयक नपढी टिप्पणी गरेकोे भनी दिएको सार्वजनिक अभिव्यक्तिको विरोध गर्दै थापाले मन्त्री बास्कोटालाई विधेयकमाथि बहस गर्न चुनौती दिए ।
“मन्त्रीज्यूलाई भन्न चाहन्छु छलफल गर्ने हो? संसदमा गर्ने हो? माइतीघरमा गर्ने हो? कता गर्ने हो हामी तयार छौं,” थापाले सञ्चारमन्त्रीकै शैलीमा भने, “नपढी आयो भनेर हामीलाई हेप्नी, लाज लाग्दैन?”
विधेयक जस्ताको तस्तै पारित भयो भने सरकारको जय गान गाउने बाहेक अरु कोही बाँकी नरहने उनले बताए।
विधेयकको विरोधमा आफूहरु संसदमा लडिरहे पनि प्रतिपक्षीको संख्या कम भएकाले बहुमतले पारित हुन सक्ने भन्दै थापाले सडकबाट साथ दिन सबैलाई अपिल गरे।
उनले भने, "यो विधेयक पारित भए कांग्रेसहरु मात्र नभएर भीम रावल र रामकुमारी झाँक्रीहरु पनि बाँकी रहने छैनन्। सबैले वियेकको विरुद्धमा उत्रिनुको विकल्प छैन।”
कार्यक्रममा अर्का कांग्रेस नेता नवीन्द्रराज जोशीले सरकारले सूचना प्रविधि विधेयकमार्फत जनताको मौलिक हक कुण्ठित गर्न लागेको आरोप लगाए।
“यो सरकारका गतिविधिहरु नागरिकको अभिव्यक्ति स्वतन्त्रता हरण गर्नेतर्फ लक्षित छन्,” जोशीले भने, ‘निरंकुशता लाद्न खोज्नेहरु आफै पतन भएको इतिहास छ, सरकारले बुझोस्।”
त्यस्तै कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकार व्यक्तिको निजी मामिलामासमेत पस्न खोजेको भन्दै बहुमतका नाममा संविधान विपरित कार्य नगर्न चेतावनी दिए।
“सूचना प्रविधि विधेयक संसदबाट पारित भयो भने, सरकारले आफ्ना विरोधीलाई खोजीखोजी मुद्दा चलाउने छ,” पौडेलले भने, “सरकार र संसदमा बहुमत भए पनि बाहिर सरकार विरोधीहरुको बहुमत छ भन्ने हेक्का राखे हुन्छ।”
.jpg)
.jpg)