काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सूचना–प्रविधि विधेयकका कारण लोकतन्त्र खतरामा नपर्ने बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले विधेयकबारे पर्याप्त छलफल भएको भन्दै अझै छलफल हुने बताए । ‘सरकारले बनाएको विधेयकबारे संसदीय समितिमा पर्याप्त छलफल भएको छ । ३६ वटा विषय परिमार्जन गरिएका छन् । प्रतिपक्षी दलका पनि आठ वटा बुँदा समेटिएका छन्,’ उनले भने ।
बाँस्कोटाले थपे, ‘संसदीय समितिले लोकतान्त्रिक प्रक्रियाबाट विधेयक पास गरेको छ । लोकतन्त्र खतरामा पर्दैन, ढुक्क हुनुस् । सरकारले भनेअनुसार कहाँ भएको छ र ? संसदले पनि त करेक्सन गर्ला गलत छ भने । हामी चाहन्छौं, संसदमा पनि चर्को बहस होस् । संसदमै लैजान नदिने त कुरा त ठिक भएन नि ? सरकारको काम संसदलाई बिजनेस दिने हो, संसदमा पुगेपछि सरकारको काम काम सकियो । सरकारले विधेयक पास गर्ने होइन क्यारे ।’
सत्य निरुपण तथा बेपत्ता छानिबन आयोग गठनका बारेमा सञ्चारकर्मीले राखेको जित्रासामा बाँस्कोटाले प्रमुख प्रतिपक्षीसँग निरन्तर छलफल भइरहेको बताए । ‘सरकार गम्भीर छ। सरकार र सत्तारुढ दल नेकपा दुवैले प्रतिपक्षीसँग छलफल गरिरहेको छ । कांग्रेसको पनि सहमति खोज्दा विलम्ब भएको हो,’ उनले भने ।
सेक्युरिटी प्रेसको बारेमा दुईवटा संसदीय समितिबाट सरकारलाई पत्र आएको जानकारी दिँदै उनले केही गलत भएको भए सच्याउन सरकार तयार रहेको बताए । ‘सबै कागजात गरेर करिब एक हजार पेज पठाइदिन्छौं, संसदीय समितिले अध्ययन गरोस् । हामीलाई सहयोग नै पुग्छ । गलत छ भने तथ्यगत रुपमा भन्दिनुपर्यो । रोक्नैपरे रोकौंला संसदीय समितिले भनेको खण्डमा,’ उनले भने ।