काठमाडौं– सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले अर्थमन्त्री डा. युवराज खतिवडाको बचाउ गरेका छन्। कान्तिपुर मिडिया ग्रुपले बिहीबार आयोजना गरेकाे कान्तिपुर इकोनोमिक समिटमा उनले अर्थमन्त्री खतिवडाको बचाउ गर्दै पार्टीको सिद्धान्तअनुरुप नै काम भइरहेको बताए ।
उनले भने, ‘अर्थमन्त्रीज्यूले पार्टीको सिद्धान्त अनुसार नै काम गर्नुभएको छ। अहिले आर्थिक क्षेत्र र यसको सिस्टम बिरामी परेको छ, बिरामीबाट मुक्त गराउन सुईमार्फत् आौषधी प्रयोग गर्नुपर्छ। सुई हान्दा बिरामीलाई दुखेजस्तै हो अहिलेको अवस्था।’
पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले विस्तारै नेपालको आर्थिक क्षेत्र अनुशासित र कानुनतः चल्न लागेको दाबी गरे।
कार्यक्रममा उद्योगी विनोद चौधरीले नेपालमा उद्योगी व्यवसायीका काम सहज रुपमा नहुने बताउँदै एउटा फाइल नै ६ महिनासम्म अड्काउने काम भएकोमा दुखेसो पोखे ।
उनले भने, ‘नेपालमा लगानीका लागि पर्याप्त रकम छ तर त्यसको लागि वातावरण छैन। सरकारले त पूर्वाधार र नीति नियम बनाउने हो, लगानी निजी क्षेत्रलै नै गर्ने हो तर त्यसका लागि लगानीमैत्री वातावारण हुनु जरुरी छ।’
अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले पछिल्लो समय विस्तारै आर्थिक क्षेत्र सिस्टममा आउन लागेको बताए । उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्न काम भइरहेको दाबी गरे।
होटल व्यवसायी संघकी अध्यक्ष सिर्जना राणाले सरकारले असल व्यक्तिहरुलाई पनि खराब नियत राखेर पक्राउ गरिएको र सामाजिक सुरक्षा योजनामा सामेल हुन दबाब दिइएको भन्दै यसले लगानीको वातावरण झन् बिग्रिएको बताइन्।