काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीमा २०१२ डिसेम्बर १६ मा भएको सामूहिक बलात्कार तथा हत्याका आरोपीलाई मृत्युदण्ड दिइने भएको छ। घटनाको ८ वर्षपछि पटियाला हाउस अदालतले मृत्युदण्डको आदेश दिएको हो।
अदालतले फासीको मिति र समयसमेत तोकेको छ। अदालतको आदेशअनुसार अभियुक्तलाई यही महिनाको २२ तारिख बुधबार बिहान ७ बजे मृत्युदण्ड दिइनेछ।
अदालतले अक्षय, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई पहिले नै दोषी ठहर गरिसकेको छ। आज अदालतले मृत्युदण्डको मिति र समय तोकेको हो। बलात्कारपछि हत्या गरिएकी निर्भयाकी आमाले चाँडोभन्दा चाँडो दोषीलाई डेथ वारेन्ट जारी गर्न अदालतमा निवेदन दिएकी थिइन् ।
अदालतले दोषी ठहर गरेका चारैजना अहिले तिहाड जेलमा छन्।
घटना सन् २०१२ डिसेम्बर १२ को राति भएको थियो। राति नौ बजे एकजना महिला र उनका केटा साथी बस चढेका थिए। बसका चालक र अन्य पाँच पुरुषले ती महिलालाई सामूहिक बलात्कार गरे र उनका केटा साथीलाई नराम्ररी कुटपिट गरे।
नग्न र रक्ताम्य अवस्थामा उक्त जोडीलाई बाटोको छेउमा फालियो। बाटो हिँडिरहेका केही मानिसले उनीहरूलाई देखेपछि अस्पताल पुर्याए र प्रहरीलाई खबर गरे। महिलाको पन्ध्र दिनपछि मृत्यु भएको थियो।
बीबीसी