अस्ट्रेलिया– अस्ट्रेलियामा आगलागीमा परी करोडौं जनावर मरिरहेका बेला त्यहीँका करिब १० हजार उँट भने सरकारले नै मार्ने भएको छ। बुधबार (भोलि) देखि दक्षिण अस्ट्रेलियामा १० हजार उँट मार्ने कार्यको थालनी हुने भएको छ।
त्यहाँका आदिवासी नेताहरुले सुख्खाग्रस्त क्षेत्रमा खाने पानी बचाउन उँट मार्ने निर्णय गरेपछि पेशेवर शिकारीले हेलिकप्टरबाट गोली प्रहार गरी उँट मार्न लागेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
त्यहाँका आदिवासीहरुले पानीको खोजीमा उँटहरु उनीहरुको बासस्थानसम्म आउने गरेका र सम्पत्तिमा समेत नोक्सानी पुर्याउन थालेको गुनासो गरेपछि उँट मार्ने निर्णय गरिएको हो। करिब १० हजार उँट मार्न पाँच दिन लाग्नसक्ने अनुमान गरिएको छ।
उँट नियन्त्रण नगर्ने हो भने हरेक नौ वर्षमा यसको संख्या दोब्बर हुनसक्ने बताइएको छ। उँटको बढ्दो संख्याले ग्लोबल वार्मिङमा समेत योगदान पुर्याएको दाबी कतिपयले गरेका छन्। कार्बन फार्मिङ विशेषज्ञ टिम मुरले एक लाख जंगली उँटले चार लाख कार बराबरको प्रदूषण निम्त्याउने बताए।