आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकासँग भिड्‍न तम्सिएको इरानसँग कति छ सैन्‍य र आणविक शक्ति ?

अमेरिकासँग भिड्‍न तम्सिएको इरानसँग कति छ सैन्‍य र आणविक शक्ति ?

अमेरिकाले ड्रोन आक्रमण गरेर आफ्नो सेनाका एक उच्च अधिकारी कासिम सुलेमानीलाई मारिदिएपछि इरानले त्यसको प्रतिशोध लिने घोषणा गरेको छ।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं– अमेरिकाले ड्रोन आक्रमण गरेर आफ्नो सेनाका एक उच्च अधिकारी कासिम सुलेमानीलाई मारिदिएपछि इरानले त्यसको प्रतिशोध लिने घोषणा गरेको छ। घटना इरानको छिमेकी इराकमा भएको हो।

National life

घटनापछि इरानका सर्वोच्च नेता आयतूला अली खामनेईले उक्त आक्रमणमा संलग्न पक्षसँग गम्भीर प्रतिशोध लिइने बताएका छन्।

अमेरिकासँग बदला लिने घोषणा गरेको इरानसँग सैन्य र आणविक हतियारको क्षमताचाहिँ कस्तो छ त ?

सैन्य क्षमता

इरानी सेनामा ५ लाख २३ हजार सदस्य रहेको बेलायतस्थित इन्टरनेशनल इन्स्टिच्युट अफ फर स्ट्राटेजिक स्टडिजको अनुमान छ। उक्त संख्यामा इरानी सेनाका साढे तीन लाख र इस्लामिक रिभोलुसनरी गार्डस् कोरका कम्तीमा डेढ लाख जवान सम्मिलित छन्।

Laxmi sunrise bank
kumari

जलसेनामा थप २० हजार सैनिक छन्, जसले स्ट्रेट अफ हर्मुज भनिने जलक्षेत्रमा गस्ती गर्छन्। गत वर्ष त्यहाँ इन्धन बोक्ने विदेशी ध्वजावाहक ट्याङ्करलाई इरानी पक्षले कारबाही गर्दा तनाव उत्पन्न भएको थियो।

आन्तरिक विद्रोह दमन गर्न सघाउँदै आएको स्वयंसेवीहरूको एउटा एकाइमा पनि जलसेनाको नियन्त्रण छ। इरानमा इस्लामिक प्रणालीको रक्षा गर्न चार दशकअघि आईआरजीसीको गठन भएको थियो। त्यसयता उक्त समूह एउटा महत्त्वपूर्ण सैन्य, राजनीतिक र आर्थिक बलको रूपमा स्थापित भएको छ।

आईआरजीसीअन्तर्गत रहेको विशेष सैन्य बल कुड्स फोर्सले विदेशमा गोप्य गतिविधि सञ्चालन गर्दै आएको छ। यसले इरानका सर्वोच्च नेताबाट सोझै निर्देशन लिने गरेको छ। अमेरिकी कारबाहीमा मारिएका सुलेमानी यसकै कमान्डर थिए।

कुड्स फोर्स सिरियामा पनि परिचालित भएको थियो। उसले त्यहाँ सिरियाली राष्ट्रपति बशर अल असदका विश्वासपात्र सैन्य अधिकारी र सरकारविरुद्ध सङ्घर्ष गरिरहेका शिया लडाकुहरूलाई परामर्श दिएको थियो।

त्यसैगरी इराकमा उसले शिया समुदायको बाहुल्य भएको अर्धसैनिक बललाई इस्लामिक स्टेटसँगको सङ्घर्षमा सघाएको थियो। तर कुड्स फोर्सले अमेरिकाद्वारा आतङ्ककारी घोषित मध्यपूर्वका सङ्गठनहरूलाई आर्थिक सहायता, तालिम, हतियार तथा उपकरण उपलब्ध गराएको अमेरिकी दाबी छ।

आणविक क्षमता

इरानले अधिकांश हतियार रुस र बाँकी चीनबाट आयात गर्छ। इरानको सैन्य शक्तिको अभिन्न अङ्ग हो क्षेप्यास्त्र। प्रतिद्वन्द्वी इजरायल र साउदी अरबको तुलनामा उसको वायुसेनाको क्षमता कमजोर भए पनि इरानका लागि क्षेप्यास्त्रको ठूलो सामरिक महत्त्व छ।

अमेरिकी रक्षा मन्त्रालयको एउटा प्रतिवेदनमा इरानको क्षेप्यास्त्र क्षमतालाई मध्यपूर्वकै सबैभन्दा ठूलो भनेर उल्लेख गरिएको छ। उसँग छोटो र मध्यम दूरीका क्षेप्यास्त्रको भण्डार नै रहेको बताइन्छ। अमेरिकी प्रतिवेदनका अनुसार इरानले लामो दूरीका अन्तरमहादेशीय क्षेप्यास्त्र विकास गर्न अन्तरिक्ष प्रविधिको पनि परीक्षण गरिरहेको छ।

सन् २०१५ मा अन्य देशसँग गरिएको पारमाणविक सम्झौताका कारण इरानले लामो दूरीको क्षेप्यास्त्रसम्बन्धी कार्यक्रम रोकेको थियो। तर इरानले उक्त कार्यक्रम पुनः थालिसकेको अनुमान छ ।

गत वर्ष मेमा इरानसँग तनाव बढेपछि अमेरिकाले मध्यपूर्वमा क्षेप्यास्त्र प्रतिरोध गर्ने क्षमता भएको पेट्रिओट एन्टी मिसाइल डिफेन्स सिस्टम पठाएको थियो। उक्त प्रणालीले ब्यालेस्टिक क्षेप्यास्त्र, क्रुज क्षेप्यास्त्र र विकसित विमानलाई निष्क्रिय बनाइदिन सक्छ।

वर्षौंदेखि नाकाबन्दी खेपेको भए पनि इरानसँग आधुनिक ड्रोनहरू छन्। इस्लामिक स्टेट समूहसँग सन् २०१६ मा इराकमा सङ्घर्ष हुँदा इरानी ड्रोन प्रयोग गरिएको थियो। गत वर्ष जुनमा अमेरिकाले जासुसी गर्न उडाएको एउटा ड्रोन इरानले खसालिदिएको थियो।

स्ट्रेट अफ हर्मुजमाथि उड्दा उक्त ड्रोनले आफ्नो सीमा उल्लङ्घन गरेको इरानको दाबी थियो। इरानले हुथी विद्रोही समूहलाई मानवरहित विमान उपलब्ध गराएको अमेरिकी आरोप छ। आफूले विकसित गरेको ड्रोन प्रविधि आफ्ना क्षेत्रीय साझेदार वा समर्थकलाई उपलब्ध गराउन वा बेच्न इरान तत्पर देखिएको बीसीसीले बताएको छ।

साइबर क्षमता

सन् २०१० मा आफ्ना पारमाणविक केन्द्रहरूमा भएको एउटा ठूलो साइबर आक्रमणपछि इरानले आफ्नो साइबर क्षमता सुदृढ बनायो।

आईआरजीसीअन्तर्गत एउटा छुट्टै साइबर एकाइ छ । त्यसले व्यापारिक र सैन्य जासुसी गर्ने गरेको बताइन्छ । अमेरिकी सेनाको एउटा प्रतिवेदनमा गत वर्ष इरानले विश्वभरिका विमान निर्माता कम्पनी, रक्षा ठेकेदार, ऊर्जा र प्राकृतिक स्रोत कम्पनी र दूरसञ्चार कम्पनीलाई तारो बनाएको उल्लेख छ।

गत वर्ष माइक्रोसफ्टले इरानबाट ह्याकरहरूको एउटा समूहले अमेरिकी निर्वाचन अभियानलाई निसाना बनाउन खोजेको र अमेरिकी अधिकारीहरूका खाताभित्र छिर्न खोजेको बताएको थियो।

(एजेन्सीकाे सहयाेगमा)

प्रकाशित: Jan 06, 2020| 05:04 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।