अमेरिका - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी फौजको विशेष दस्ता 'क्विड'का प्रमुख जनरल कासिम सुलेमानीको हत्या अमेरिकाले युद्ध रोक्नको लागि गरेको बताएका छन्। इरानले आफ्ना प्रमुख मारिएपछि त्यसको बदला लिने र अमेरिकाले द्वन्द्व निम्त्याएको चेतावनी दिएपछि ट्रम्पको पछिल्लो प्रतिक्रिया आएको छ।
फ्लोरिडामा भएको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने, 'सुलेमानीको हत्या युद्ध रोक्नका लागि भएको हो, युद्ध निम्त्याउन होइन।' उनले अमेरिकी सैनिकले आतंकवादका विरुद्ध विश्वका जुनसुकै स्थानमा पनि हमला गर्नसक्ने बताए। ट्रम्पले भने, ' इरान मलाइ माफ गर, सुलेमानीले अमेरिकी नागरिक, सैनिक तथा कुटनीतिज्ञहरुमाथि आक्रमण गरिरहेको थियो त्यसैले हामीले उसलाई सिध्याइदियौं।' उनले सुलेमानीको मृत्युले आतंकवाद मेटिएको प्रतिक्रिया दिए।
सुलेमानीको हत्यासँगै दुई देशबीच तनाव उत्पन्न भएको छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खमेनीले ‘अपराधीसँग गम्भीर बदला लिने’ चेतावनीसमेत दिइसकेका छन्।
यता घटनापछि विज्ञप्ति जारी गर्दै अमेरिकी रक्षा मन्त्रालयले भनेको छ, ‘राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले कासिम सुलेमानीलाई मारेर विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाका लागि निर्णायक रक्षात्मक कारबाही गरेको छ। यो कारबाही भावी इरानी आक्रमण योजनालाई कमजोर बनाउन लक्षित थियो। अमेरिका आफ्ना नागरिक र आफ्ना चासोका विषयको संसारभर रक्षा गर्ने कार्य गरिरहने छ।’
यसैबीच इराकको सरकारी टेलिभिजनले आफ्नो देशमा अर्को हवाई हमला भएको बताएको छ। सुलेमानीको हत्यापछि वितेको २४ घण्टामा अर्को हवाई हमला भएको उक्त टेलिभिजनले पुष्टि गरेको छ। शनिबार बिहान भएको हमलामा ६ जनाको ज्यान गएको इराक आर्मीले जनाएको छ। यो हमलासमेत अमेरिकाले गराएको इराकको आरोप छ। तर, पछिल्लो हमलाबारे भने अमेरिकाबाट कुनै प्रतिक्रिया प्राप्त भइसकेको छैन।
सुलेमानीको मृत्युपछि इरानले आफ्नो देशमा ३ दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ।
इराकको बगदाद विमानस्थल नजिक शुक्रबार भएको रकेट आक्रमणमा सुलेमानीको मृत्यु भएको थियो।