आइतबार, जेठ ३, २०८३

चितवनमा खुल्यो अटिजम विशेष विद्यालय

भरतपुर महानगरपालिका–१० बालमन्दिर आधारभूत विद्यालयमा अटिजम विशेष विद्यालय स्थापना गरिएको छ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

चितवन- भरतपुर महानगरपालिका–१० बालमन्दिर आधारभूत विद्यालयमा अटिजम विशेष विद्यालय स्थापना गरिएको छ। यस विद्यालयमा अटिजम भएका बालबालिकालाई पठनपाठन गराइने छ। विद्यालयको आज एक समारोहबीच उद्घाटन गरिएको हो। 

National life

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालयको उद्घाटन गर्दै नेपालमा नै पहिलो पटक अटिजम विशेष विद्यालय स्थापना गरिएको बताइन्। अटिजम भएका बालबालिकाको अभिभावकले दुःख बेहोर्नु परेको भन्दै उहाँले यसलाई व्यवस्थित बनाइने जानकारी दिइन्।

'अटिजम साँच्चै पीडादायी समस्या हो। यसले घर परिवार आफन्तलाई समेत ठूलो समस्या दिँदै आएको छ,' उनले भनिन्। यो समस्या भोगिरहेका व्यक्ति र तिनका परिवारका असहजता केही हदसम्म न्यूनीकरण गर्नका लागि यो विद्यालय स्थापना गरिएको हो।

कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले यो काम जटिल भए पनि प्रत्यक्ष रुपमा बालबालिका लाभान्वित हुने भएकाले आवश्यक सहयोगका लागि सबैसँग अनुरोध गरेकी थिइन्। सो अवसरमा जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, महानगरका प्रवक्ता अरुणपीडित भण्डारी, नेपाल बाल सङ्गठनका अध्यक्ष रविकिरण पौडेल, अटिजम केयर सोसाइटी चितवनका प्रमिला न्यौपाने लगायतले धारणा राखेका थिए। 

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले अटिजम जन्मजात अपाङ्गता भएको भन्दै उमेर विकाससँगै अन्य सीपमा विकास हुन कठिनाइ भएर कुनै पनि क्रियाकलाप दोहोर्‍याउने कार्य यस्ता बालबालिकाले गर्ने बताए। 

विशेष शिक्षा प्रणालीबाट उनीहरुको पढाइ गर्ने भन्दै उनले नेपालमा नै पहिलो पटक भरतपुर महानगरपालिकाले अभिभावकत्व ग्रहण गरेर विद्यालय सञ्चालनमा ल्याएको बताए। महानगर क्षेत्रभित्र मात्र ४० जना हाराहारी यस्ता बालबालिका हुने अनुमान गरिएको छ। ती बालबालिकालाई दिउँसोको समयमा खाना, पढाइसँगै स्याहारसुसार गरिने छ। विद्यालय सञ्चालनका लागि चालु आर्थिक वर्षमा रु १८ लाख खर्च हुने अनुमान गरिएको छ। 

प्रकाशित: Sep 03, 2021| 20:27 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्