काठमाडौं– नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्कालाई कसमस कलेजले ब्राण्ड एम्बासडरका रुपमा सम्झौता गरेको छ। पूर्वकप्तान पारसले संन्यासपछि सार्वजनिक क्षेत्रमा सहकार्य गरेको पहिलो संस्था हो।
‘कोही फुटबलमा, कोही क्रिकेटमा वा बाँकी खेलमा सक्रिय होला। तर पढाइ छोड्नुहुन्न भन्ने सन्देश दिन यो सहकार्य गरेको हो। क्रिकेट एकेडेमीको सुरुवात र विकासलाई अघि बढाउन यो सहकार्य हो,’ पारसले भने। उनले आफूले बनाउन लागेको एकेडेमीका लागि कसमस कलेजका विद्यार्थीका लागि सहुलियत हुने पनि बताएका छन्।
एकेडेमीबाट राम्रा र उत्कृष्ट कार्यक्रम ल्याएर आजका युवालाई सहयोग गर्ने पारसले प्रतिबद्धता जनाएका छन्। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले ब्याट र बललाई किताबसँग जोडेकोमा धन्यवाद दिए। सिलवालकै ह्वाइट हाउसमा कलेजमा पढेका कारण सिलवालले पारसको कलेज लाइफको पनि बयान गरे। पारसको संन्यासबारे उनले क्यानका पदाधिकारीसँग कुरा गरेको पनि बताएका छन्।
देशलाई आवश्यकता परे अर्जेन्टिनी फुटबलर लियोनेल मेस्सीले जस्तै पारसले पनि संन्यास फिर्ता लिन सक्नुपर्ने उनले तर्क गरे। कसमस कलेजका प्रिन्सिपल पवन भट्टराईले युवालाई सबै आयाममा अघि बढाउन पारससँगको सहकार्य गरेको बताए।