काठमाडौं- सन् २०१९ मा राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो।
विश्वका सञ्चारमाध्यम अमेरिका र बेलायतको राजनीतिले ओगटे भने अन्य देशका पनि केही घटनाले स्थान पाए। सन् २०१९ का चर्चित १९ घटनालाई यहाँ छोटकरीमा स्मरण गरिएको छ।
१. भेनेजुएलाको पक्ष-विपक्षमा विश्व विभाजित
सन् २०१९ भेनेजुएलाको राजनीतिक संकटबाट सुरु भएको थियो। जनवरीमा २३ मा भेनेजुएलाको राष्ट्रियसभाका प्रमुख ३५ वर्षीय हुँवा गुएइदोले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरे।
चुनावमा राष्ट्रपति निकोलस मदुरो विजयी भएका थिए। निर्वाचन निष्पक्ष नभएको भन्दै गुएइदाेले आफैँलाई राष्ट्रपति घोषणा गरेका थिए।
गुएइदोको घोषणापछि चीन, रुससहितका केही ठूला देश र टर्की, क्युबा, बोलिभिया, उरुग्वे, मेक्सिकोसँगै इरान र उत्तर कोरियालगायतका देशले मदुरोको समर्थन गरे थिए भने अमेरिका, युरोपेली राष्ट्र, ब्राजिल, कोलम्बिया, अर्जेन्टिना र अस्ट्रेलिया, इजरायललगायत झण्डै ५० देशले गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका थिए।
मदुरो अहिलेसम्म राष्ट्रपति भवनमै रहन सफल भएका छन्।
२. बेलायतमा ब्रेक्जिटका पक्षमा जनमत
बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको पार्टी कन्जरभेटिभ्सले संसदीय निर्वाचनमा बेलायतलाई युरोपेली संघ (ईयू) बाट बाहिर निकाल्ने जनादेशसहितको बहुमत पाएको छ।
हाउस अफ कमन्सका ६ सय ५० स्थानमध्ये घोषणा गरिएका ६ सय स्थानमा जोनसनको कन्जरभेटिभ्स पार्टी ३ सय २६ स्थानमा विजयी भएकाे छ। उनले आगामी जनवरी ३१ मा बेलायतलाई ईयूबाट अलग्याउने गृहकार्य गरिरहेका छन्।
तत्कालीन प्रधानमन्त्री थेरेसा मेले बहुमत गुमाएपछि अन्तरिम प्रधानमन्त्री हुदै उनी नयाँ निर्वाचनबाट फेरि प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
३. सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका र उत्तर कोरिया
एकअर्कालाई प्रमुख दुश्मन ठान्ने उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा सन् २०१९ मा उल्लेख्य प्रगति नभए पनि शीर्ष नेताको दुई बैठक भयो।
अघिल्लो जुनमा १२ मा सिङ्गापुरमा पहिलो पटक अंगालो हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले यस वर्ष दुई पटक शिखर बैठक गरे।
दोस्रो बैठक फेब्रुअरी २७ र २८ मा भियतनाममा भयो भने तेस्रो बैठक दुई कोरियाबीचको सिमानामा जुलाई १ मा भयो। दुवै बैठक उपलब्धिमूलक नभए पनि द्विपक्षीय सम्बन्धमा दरार नहुनुलाई नै सन्तोषका रुपमा हेरिएको छ।
४. बाढी र रोगबाट सयौँको मृत्यु
बाढीका कारण भारतको केरला, कर्नाटक, गुजरात र महाराष्ट्रमा गरी ३ सय भन्दाबढीको मृत्यु भयो।
भारतकै विहारमा फैलिएको इन्सेफ्लाइटिस् रोगका कारण १ सय ६१ भन्दा बढीले ज्यान गुमाए। अस्ट्रेलियामा यस वर्ष फ्लुका कारण २ सय २० जनाभन्दा बढीको मृत्यु भयो।
५. आन्दोलनमा सयौँ मारिए
सुडानमा भएको आन्दोलनका क्रममा १०८ जनाको मृत्यु भयो भने इराकमा झण्डै एक सय जना आन्दोलनकै क्रममा मारिएका छन्।
अन्य अफ्रिकी देशमा पनि बेरोजगारी बढेको, आधारभूत सेवाबाट आमजनता बिमुख रहेको तथा सरकारमा भ्रष्टाचार बढेको भन्दै भइरहेका आन्दोलनमा परी सयौँको मृत्यु भएको छ।
६. बेलायतमा कन्टेनरभित्र ३९ जनाको शव
बेलायतको एसेक्सस्थित वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडकमा राखिएको एउटा लरीको कन्टेनरभित्र ३९ वटा शव फेला परेका छन्।
शवमध्ये ३८ जना वयस्क र एक जना किशोरको रहेको परीक्षणबाट पुष्टि भएको थियो। उनीहरु सुरुमा चिनियाँ नागरिक भनिए पनि पछि भने भियतनामी भएको अधिकारीहरुले बताएका थिए।
७. राहुल गान्धीको राजीनामा
भारतीय कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिए। लोकसभा चुनावमा नराम्रोसँग हार व्यहोरेपछि राहुलले पदबाट राजीनामा दिए।
शुभेच्छुकहरुले उनलाई राजीनामा नदिन दबाब दिए पनि उनले मानेन्। उनको अडानका कारण पार्टीका पूर्व अध्यक्ष तथा राहुलकी आमा सोनिया गान्धी नै अहिले भारतीय राष्ट्रिय काँग्रेसको अन्तरिम अध्यक्ष छिन्।
८. जापानी सम्राटको दुर्लभ निर्णय
जापानको इतिहासमा २ सय वर्षभन्दा बढी समयसम्म नभएको घटना यस वर्ष भयो। सम्राट अकिहितोले स्वेच्छाले राजगद्दी त्याग्ने दुर्लभ निर्णय गरे।
अकिहितोले गद्दी त्याग गरेपछि उनका छोरा ५९ वर्षका नारुहितो जापानको राजा भए। नयाँ राजाले राजगद्दी समालेसँगै जापानमा नयाँ युगको सुरुवात भएको मानिएकाे छ।
९. भारतमा बाबरी मस्जिद र जम्मु कश्मीर
भारत सरकारले जुलाई ५ मा मुस्लिम बाहुल्य जम्मु कश्मीरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेश जारी गर्याे। त्यसपछि जम्मु–कश्मीर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश भएकाले भारतको इतिहासमा यसलाई महत्वपूर्ण दिनका रुपमा लिइएको छ।
भारतकै अयोध्यामा वर्षौ पुरानो तथा विवादित मुद्दामा यस वर्ष फैसला भयो। उक्त स्थानमा रहेको रामको मन्दिर हिन्दूहरुले आफ्नो क्षेत्रका रुपमा दाबी गरेका थिए भने इस्लामहरुले पनि उक्त क्षेत्रमा बाबरी मस्जिद बनाउनुपर्ने दाबी गर्दै आएका थिए।
सर्वोच्च अदालतले सो स्थान हिन्दूहरुलाई दिने र इस्लामहरुका लागि मस्जिद बनाउन अर्को ठाउँमा जमिनको व्यवस्था गर्न फैसला गर्यो ।
१०. श्रीलंकामा दाजुभाइको सत्तारोहण
श्रीलङ्कामा भएको राष्ट्रपतीय निर्वाचनबाट पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोटावया राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भए।
उनी निर्वाचित भएको केही दिनमै तत्कालीन प्रधानमन्त्री रणिल विक्रमासिंघेले राजीनामा दिए र आफ्नै दाइ तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई नै प्रधानमन्त्रीमा नियुक्त गरे ।
सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति बनेर बाहिरिएका राजापक्षे फेरि सत्तामा फर्किएको र दाइ प्रधानमन्त्री तथा भाइ राष्ट्रपति भएको विषय दक्षिण एसियाको एक चर्चाको विषय रह्यो ।
११. इजिप्टका पूर्वराष्ट्रपति मोर्सीको अदालतमै मृत्यु
इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा बयान दिने क्रममा ढलेर मृत्यु भयो। अरब क्रान्तिपछि सन् २०१३ मा इजिप्टका राष्ट्रपति भएका मोर्सीलाई सेनाले एक वर्षमै अपदस्थ गरेको थियो।
अदालतमा बयान दिन लागेको केहीबेरमा मोर्सी ढलेका थिए। प्रतिबन्धित मुस्लिम ब्रदरहुडका शीर्ष नेता ६७ वर्षीय मोर्सीका समर्थकले भने उनको हत्या भएको आरोप लगाएका थिए।
१२. पेरुका पूर्वराष्ट्रपति अमेरिकामा पक्राउ
भ्रष्टाचार गरी फरार रहेका पेरुका पूर्वराष्ट्रपति अलेक्जान्ड्रो टोलेडो अमेरिकामा पक्राउ परे।
सन् २०१७ देखि अमेरिकामा बस्दै आएका टोलेडोमाथि ब्राजिली विशाल निर्माण कम्पनी ओडेब्रेक्टसँग पेरु र ब्राजिल जोड्ने राजमार्ग निर्माणको ठेक्का दिँदा घुस लिएको तथा अरु विभिन्न अपराधमा संलग्न रहेको आरोप छ।
१३. दुई सय २७ बालबालिकाको सामूहिक चिहान
दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २ सय २७ जना बालबालिकाको सामूहिक चिहान फेला पारे। आजसम्म फेला पारिएको यस्ता चिहानमा यो सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका थिए।
१४. ‘मीटू’ मुद्दामा ३४ लाख क्षतिपूर्ति
जापानमा ‘मीटू’ अभियानबाट चर्चित ३० वर्षीया पत्रकार शिओरी इटोले बलात्कारसम्बन्धी मुद्दा जितेकी छन्। जापानमा यौनको विषयमा कम बहस हुने भएकाले यसलाई अत्यन्त महत्वका साथ लिइएको थियो।
टोकियोस्थित ‘सिभिल कोर्ट’ ले इटोको पक्षमा फैसला सुनाउँदै पीडितलाई ३४ लाखभन्दा बढी रुपैयाँ जरिवाना तिर्न आदेश दिएको थियो। उनले आफूलाई करिअरबारे छलफल गर्न होटलमा बोलाएर बलात्कार भएको भन्दै दोषीलाई कारबाही गर्न र आफुलाई क्षतिपूर्ति दिलाउन माग गरेकी थिइन् ।
१५. सरिफ सिकिस्त, अब्बासी पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सिकिस्त बिरामी भए। भ्रष्टाचार अभियोगमा जेल सजाय भोगिरहेका सरिफ जेलमै सिकिस्त बिरामी भएपछि बेलायत लगिएको थियो । उनको अवस्था चिन्ताजनक नै छ।
सन् २०१९ मै पाकिस्तानका पूर्वप्रधानमन्त्री सहिद खकान अब्बासी पनि भ्रष्टाचार आरोपमा पक्राउ परे। सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्री भएका अब्बासीलाई पक्राउ गरिएको विषयलाई पनि चासोका साथ हेरियो।
१६. मुसरफलाई मृत्युदण्ड
पाकिस्तानका अर्का पूर्वराष्ट्रपति परवेज मुसर्रफविरुद्ध देशद्रोहको मुद्दामा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएपछि विश्वभर फैसलाले विवाद निम्त्याएको छ।
बिरमी अवस्थामा विदेशमा उपचार गराइरहेका मुसर्रफको मृत्युदण्ड हुनुअगावै निधन भएमा उनको शव तीन दिनसम्म सार्वजनिक ठाउँमा राख्नसमेत आदेश दिएपछि यो विषय थप चर्चामा रहेको छ ।
१७. नागरिकताको नयाँ व्यवस्थाले ततायो भारत
नागरिकतासम्बन्धी संशोधित विधेयक पारित गरिएपछि भारतका पश्चिम बङ्गाल, कलकत्ता, तामिल नाडूलगायतका राज्यमा आन्दोलन चर्किएको छ।
आन्दोलनका क्रममा दर्जनौँको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्। पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने नयाँ व्यवस्थाको विरोध भएको हो।
१८. ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव
सदनबाट महाअभियोग लगाइएका अमेरिकी राष्ट्रपतिमध्ये डोनाल्ड ट्रम्प तेस्रो राष्ट्रपति बने। हाउस अफ् रेप्रिजेन्टेटिभ्सले राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको भन्दै यही डिसेम्बर १८ मा महाभियोगको पक्षमा निर्णय गरेको हो।
तल्लो सदनमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ मत खसेको थियो।
१९. सान्ना विश्वकै कान्छी प्रधानमन्त्री
फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भएको विषयले यो वर्षको अन्त्यतिर निकै चर्चा भयो । प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्र्याटिक पार्टीले मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो ।
उनले मन्त्रीमण्डलमा महिलाको बहुमत र धेरै मन्त्री ४० बर्षभन्दा कम उमेरकालाई बनाएकी छन्।
यीबाहेक अमेरिका र चीनको व्यापार युद्ध, सिरिया, यमन, अफगानिस्तान आदिमा जारी द्वन्द्वलगायतका विषय पनि वर्षभर चर्चामा रहिरहे । यस्तै उतार चढाबका बीच वर्ष २०१९ विदा हुँदै छ र नयाँ वर्ष २०२० लाग्न थालेको छ । -रासस