काठमाडौं- विश्वको सबभन्दा बढी उमेरको भएको ठानिएको पोथी गैँडाको तान्जनियामा ५७ वर्षको उमेरमा मृत्यु भएको छ।
फाउस्टा नाम दिइएको ‘इस्टर्न ब्ल्याक राइनो’ भनिने गैँडा ङगोरोङगोरो क्षेत्रमा सन् १९६५ मा तीन वर्षको उमेर हुँदा देखा परेको थियो।
सोही क्षेत्रमा उसले ५४ वर्षसम्म स्वतन्त्र घुमफिर गरेको थियो तर वृद्धावस्थाका कारण केही वर्षदेखि विशेषज्ञको रेखदेखसहित एउटा प्राकृतिक आरक्षस्थलमा राखिएको थियो।
फाउस्टाले कहिल्यै बच्चा जन्माएन। ङगोरोङगोरोका संरक्षणविद्हरू त्यसकै कारण फाउस्टा लामो समय बाँचेको हुनसक्ने ठान्छन्।
सन् २०१६ सम्ममा फाउस्टाको आँखाको ज्योति गुम्दै गइरहेको थियो र हायनाहरूको आक्रमणबाट घाइते उसलाई त्यसबाट तङ्ग्रिन समय लागेको थियो।
ङगोरोङगोरो संरक्षण अधिकारी डा. फ्रेडी मानोन्गीका अनुसार सन् २०१६ देखि नै उसलाई जङ्गलबाट निकालेर विशेष रेखदेखमा राखिएको थियो।
मानोन्गीका अनुसार फाउस्टा मरेकै दिन अर्को गैँडा जन्मिएको छ।
एउटा विज्ञप्ति जारी गर्दै मानोन्गीले फाउस्टा संसारभरिमा सबभन्दा लामो समय बाँचेको रेकर्डले देखाउने बताएका छन्।
उसको मृत्यु शनिबार साँझ भएको बताइएको छ।
जङ्गलमा गैँडाहरू ३७–४३ वर्षसम्म बाँच्ने गरेको र कुनै खोरमा ५० वर्षसम्म बाँचेको अभिलेख छ।
इस्टर्न ब्ल्याक राइनो भनिने यो गैँडा अति खतरामा परेको जनावरको सूचीमा छ।
यसको खागका लागि चोरी शिकारी गर्ने हुनाले यसको सङ्ख्या निकै कम छ। तर सङख्या बढ्दै गएको बताइएको छ। बीबीसी