काठमाडौं - दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधिका लागि आज (शनिबार) चितवन टाइगर्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ। पोखरा मैदानमा बिहान साढे ११ बजेदेखि सुरु हुने खेलमा दुवै टिम पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन्। चितवन अघिल्लो संस्करणको फाइनल प्रतिष्पर्धीसमेत हो। चितवनमा नेपाली राष्ट्रिय टोलीको लामो समय कप्तानी गरेका पारस खड्कासहित निकै अनुभवी खेलाडी रहेका छन्।
यता प्रदिप ऐरीको विराटनगर गत संस्करण पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको टोली हो भने यो सिजन पनि कठिन परिस्थितिबाट माथि आएको टोली हो। चितवनले भने जारी प्रतियोगितामा सतप्रतिशत जित निकाल्दै फाइनल प्रवेश गरेको टोली हो। त्यसैले पनि ऐरीको टोलीले पारसको टोलीलाई पराजित गर्न निकै मेहनत र सुझबुझको खेल खेल्न आवश्यक छ।
यसअघि लिग चरणमा भएको प्रतिष्पर्धामा चितवनले विराटनगरलाई १८ रनले पराजित गरेको थियो।
शुक्रबार भएको प्रि-म्याच कन्फ्रेन्समा दुबै कप्तानले उपाधि जित्ने दाबी गरे। विराटनगरका कप्तान ऐरीले पछिल्लो खेलमा समातेको लयलाई निरन्तरता दिने बताए। उनले पछिल्ला खेलका उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोली फाइनल प्रवेश गरेकोले पनि सबै खेलाडीको मनोबल उच्च रहेको बताए। यता चितवनका कप्तान पारसले विराटनगर पनि बलियो टोली रहेकोले तथा लिग चरणमा पनि लक्ष्य नजिक पुगेकोले आफूहरुले उसलाई कमजोर आंकलन नगरेको बताए। उनले यसअघि पनि प्रतियोगिताको फाइनल खेलेकाले तथा टोली पनि लयमा रहेकोले जित हात पार्ने दाबी गरे।