काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधिका लागि चितवन राइनोज र विराटनगर टाइटन्सबीच खेल हुने भएको छ।
इलिमिनेटरमा विराटनगरले बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै फाइनलमा चितवनसँगको भेट पक्का गरेको हो। एकपटक इलिमिनेटरमासमेत छनोट हुन कठिन अवस्थामा रहेको विराटगरले यसअघिको खेलमा बुटवललाई नै पराजित गर्दै इलिमिनेटरमा प्रवेश गरेको थियो।
विराटनगरलाई इलिमिनेटरमा पुग्न बुटवलले दिएको १३४ रनको लक्ष्य १२ ओभर २ बलमा पुरा गर्नुपर्ने थियो तर उक्त खेल विराटनगरले ११ ओभर ४ बलमा ६ विकेट गुमाउँदै पुरा गर्यो।
बिहीबार सम्पन्न इलिमिनेटरको खेलमा पनि विराटनगरले बुटवलाई नै पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो। विराटनगरले जितका लागि दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ४४ रनमात्र बनाउन सक्यो। बुटवलका भिम सार्कीले सर्वाधिक ४४ रन बनाए।
सुरुवाति ब्याट्सम्यान अफ्ताबउद्दिन्न अहमदले ४३ रन जोडेपनि अन्य ब्याट्सम्यानले त्यसपछि गतिलो प्रदर्शन गर्न नसक्दा मध्यक्रमका ब्याट्सम्यानले धरमराएको बुटवलको इनिङ सम्हाल्ने प्रयास गरेका थिए।
सो क्रममा सार्कीले ४४ रन जोड्दा पुरन बिकले १५ तथा शिवम् सिंहले १४ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकसमेत जोड्न नसक्दा बुटवल पहिलो पल्ट उपाधि भिडन्तमा पुग्न असफल रह्यो। विराटनगरका लागि शाहब आलम र पुनित मेहराले समान ३/३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६५ रन जोडेको थियो। विराटनगरका सुनिल धमलाले अर्धशतकीय इनिङ्स खेले। ५४ बलको सामना गरेका उनले २ छक्का र ४ चौकाको मद्दतमा ६१ रन बनाए।
यस्तै कप्तान प्रदिप ऐरीले अविजित ३३, जैद आलमले २०, लोकेश बम र पुनित मेहराले समान १९ रन जोडे। बुटवलका हर्ष टंकले २ विकेट लिए। यस्तै ललित भण्डारी र अविनास बोहराले समान १/१ विकेट लिए।
चितवन र विराटनगर बीचको फाइनल खेल शनिबार हुनेछ।