काठमाडौं - शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि सुरु भएको तेस्रो चरणको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो। जारी लिगमा मछिन्द्रले ६ अङ्क जोडेको छ। यसअघि मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराएको थियो भने च्यासल युथ क्लबसँग १-१ को बराबरीमा खेलेको थियो।
मछिन्द्रको जितमा पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक/एक गोल गरे। खेलको २९औँ मिनेटमा पिटर सेगुनको गोलबाट मछिन्द्रले अग्रता लिएको थियो। रेजिन धिमालको क्रसलाई गोलकिपर देव लिम्बूले पञ्च गर्दै फर्काए पनि त्यही रिबाउन्डमा सेगुनले हेडमार्फत गोल गरेका थिए।
त्यस्तै खेलको ५१औँ मिनेटमा एडेलाजाले गोल गरे। कप्तान विराज महर्जनको ब्याक पासमा उनले गोल गरेका हुन्। त्यसैगरी खेलको ८५औँ मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३-० को सहज जित दिलाए।